२०८२ चैत्र २७, शुक्रबार

काठमाडौं । इन्डियन प्रिमियर लिग-आईपीएलको १६औँ खेलमा शुक्रबार दुई अपराजित टोली राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलुरू प्रतिस्पर्धा गर्दै छन्।

यो खेल गुवाहाटीस्थित बरसापारा क्रिकेट मैदानमा साँझ पौने ८ बजे सुरु हुनेछ। सिजनका सुरुआती तीनै खेल जितेको राजस्थान अंक तालिकाको शीर्ष स्थानमा छ। उसले चेन्नई सुपर किङ्स, गुजरात टाइटन्स र मुम्बई इन्डियन्सलाई पराजित गरेको हो। अर्कोतर्फ बैंगलुरुले सनराइजर्स हैदराबाद र चेन्नई सुपर किङ्सविरुद्ध जित दर्ता गरेको थियो।

आक्रामक शैलीमा ब्याटिङ गरिरहेको राजस्थान यस सिजन उत्कृष्ट लयमा देखिएको छ। ब्याटिङतर्फ शीर्ष क्रम लगातार राम्रो सुरुआत दिलाइरहेको छ भने मध्यक्रमले पनि जिम्मेवारीपूर्वक ठूलो स्कोर बनाउन योगदान दिइरहेको छ। ओपनर जोडीका रूपमा यशस्वी जैसवाल र वैभव सूर्यवंशीले शानदार सुरुआत दिलाइरहेका छन् ।

बलिङतर्फ पनि राजस्थान सन्तुलित देखिन्छ। जोफ्रा आर्चर र नान्द्रे बर्गरले नयाँ बलको जिम्मेवारी सम्हालिरहेका छन्। रियान परागको कप्तानीमा राजस्थान यो सिजन सन्तुलित र बलियो टोलीका रूपमा उभिएको छ । उपाधि रक्षा अभियानमा रहेको बैंगलुरुले पनि हालसम्म राम्रो प्रदर्शन गरिरहेको छ।

उसको ब्याटिङ लाइनअप निकै बलियो देखिएको छ। शीर्ष क्रममा विराट कोहली, फिल साल्ट र देवदत्त पडिक्कल बैंगलुरुका मुख्य हतियार हुन् भने रजत पाटीदारको टिमका लागी टिम डेभिड संकटमोचक साबित भएका छन्। जेकब डफीको बलिङले यस सिजन हरेक विपक्षीलाई समस्यामा पारेको छ।

आईपीएलमा दुई टोलीबीच हालसम्म ३४ खेल भएका छन्। जसमध्ये बैंगलुरुले १७ र राजस्थानले १४ खेल जितेका छन्। ३ खेलमा भने बिनानतिजा समाप्त भएका छन्। गुवाहाटीमा भने शुक्रबार वर्षाको सम्भावना करिब ५६ प्रतिशत छ। आईपीएल अन्तरगत गयरातिको खेलमा लखनउ सुपर जायन्ट्सको लगातार दोस्रो जित हात पार्दा कोलकाता नाइट राइडर्स ३ विकेटले पराजित भएको थियो।