चितवन। रास्वपाको केन्द्रीय सदस्यको प्रतिस्पर्धामा भाग लिएकी नेतृ ज्वाला संग्रौला आफूमाथि षडयन्त्र रचिएको भन्दै आक्रोशित बनेकी छन्। मतपत्रमा आफ्नो परिचित नाम ‘ज्वाला’ नै गायब गरिएपछि उनी आक्रोशित बनेकी हुन्।
ज्वालाको वास्तविक नाम टिका संग्रौला हो। तर, उनी पार्टीभित्र र बाहिर ज्वाला नामले नै बढी परिचित छिन्। यो उनको उपनाम हो। उनले उम्मेदवारीको फारम भर्दा टिका संग्रौला (ज्वाला) लेखेकी थिइन्। तर, मतपत्रमा भने ज्वाला हटाएर टिका संग्रौला मात्रै राखिएपछि आफूमाथि षडयन्त्र भएको उनले बताएकी हुन्।
उनले भनिन्, ‘मलाई सबैले ज्वाला भनेर चिन्नुहुन्छ। यो नाम मतपत्रमा नदेख्दा प्रतिनिधिहरुले मलाई भोटै नहालि आउनुभएछ। उहाँहरुले मलाई आएर भन्नभयो। पछि म आफैं भोट हाल्न जाँदा टिका संग्रौला मात्रै लेखिएको रहेछ। यो नामले मलाई धेरैले चिन्नुहुन्न। ममाथि सरासर षडयन्त्र भयो ’
ज्वालाले यो विषयमा पार्टीको निर्वाचन आयोगमा मौखिक गुनासो राखेकी थिइन्। तर, आयोगका व्यक्तिहरुले मतपत्रमा ‘उपनाम’ प्रयोग गर्न नमिल्ने जवाफ दिए। यद्यपि, अरु थुप्रै उम्मेदवारहरुको उपनाम मतपत्रमा प्रयोग भएको छ। रञ्जु न्यौपानेको नाम रञ्जु दर्शना, डिल्लीस्वर कार्कीको नाम रोहन कार्की लेखिएको छ, जुन नामबाट उनीहरु परिचित छन्।
आफ्नो नाममै छेडखानी गरिएपछि ज्वालो रास्वपाको निर्वाचन आयोगमा उजुरी दिने तयारी गरेकी छन्। नेतृत्वसमक्ष कुरा राख्दा निर्वाचन परिणामपछि कुरा गरौंला भन्ने जवाफ आए पनि उनी सन्तुष्ट छैनन्। आफूलाई चुनावको हारजित भन्दा पनि पार्टीभित्रै भएको षडयन्त्रले चित्त दुखेको उनी बताउँछिन्।




