वीरेन्द्रनगर। कर्णाली प्रदेश सरकारको पाँचौ मुख्यमन्त्रीमा मुगुका मंगलबहादुर शाही नियुक्त हुँदै छन्। नेकपा एमालेको सर्मथनमा शाही सरकारको पाँचौ मुख्यमन्त्री बन्न लागेका हुन्। प्रदेश प्रमुखको कार्यालयले (साउन १२) गते सोमबार बेलुका ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेशका लागि आह्वान समेत गरिसकेको छ।
प्रदेश प्रमुख कार्यालयका प्रवक्ता भीमराज थानीले प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न आह्वान गरेको जानकारी दिए।
नेकपाका शाहीले सोमबार बेलुका समयसिमाभीत्र आफुले मुख्यमन्त्रीमा दाबी पेश गर्ने जानकारी दिए। ‘अहिलेसम्म दुईदलबीच मन्त्रालय बाँडफाँड लगायतका विषयमा छलफल भएको छैन्,’ उनले भने, ‘भोली दाबी पेश हुन्छ । पहिला मन्त्रालय लगायतका विषयमा छलफल हुन्छ।’
पछिल्लो समय फेरीएको राजनीति परिस्थितिका कारण आफु काठमाडौँमा रहेको उल्लेख गर्दै साेमबार बिहान कर्णाली फर्किएर मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने बताए। ‘देशमा एक खालको दुइ पार्टीबीच राष्ट्रिय आवश्यकताका आधारमा सहमित भएको छ,’ उनले ओसिसखबरसँग भने, ‘त्यसलाई प्रभावकारी कार्यान्वयनमा कसरी लैजाने भन्ने विषयमा म काठमाडौँ आएको हुँ।’
साथै उनले अहिलेको गणतन्त्र, राष्ट्रियता र संघीयता बचाउनका लागि त्यसको मध्यनजर गर्दै एउटा बाम मोर्चा निर्माण सँगै बामपन्ती बनाउका लागि राष्ट्रिय आवश्यकताका आधारमा नयाँ गठबन्धन बनेको दाबी गरे। ‘यसरी बनेको निर्णयलाई प्रभावकारी कार्यान्वयन गर्नका लागि एकआपसमा छलफल आवश्यक पर्छन्’, उनले भने, ‘सोही छलफलका विषयमा एमाले दलका नेता कँडेल र म काठमाडौँमा पुगेका हौँ।’
साथै उनले पछिल्लो कार्यपालिका, व्यवास्थपिका लगायतका विषयमा आक्रमण भएर सिस्टमलाई कोल्याप्स गर्ने कामहरु भइरहेका कारणले एमाले र नेकपाको गठबन्धन गर्नुपर्ने अवस्था आएको बताए । ‘गणतन्त्र, संघीयता, राष्ट्रियतामाथिको प्रहारलाई बचाउनका लागि योे सहमति बनेको छ,’ शाहीले भने, ‘यो सहमतिको प्रभावकारी कार्यान्वयनका विषयमा कुरा भएको हो।’
यस्तै, शाही अहिले नेकपा कर्णाली प्रदेशसभा संसदीय दलका नेता भएका कारण मुख्यमन्त्रीका स्वत दाबेदार हुन्। तर, पार्टीभीत्रकै केही सांसदहरुले शाहीलाई दलको नेताबाट हटाएर अन्यलाई दलको नेता बनाउने विषयमा बहस चलाइरहेका छन्। यदी दलको नेता परिर्वतन नभए शाही नै कर्णालीको पाँचौ मुख्यमन्त्रीमा नियुक्त हुनेछन्।
यसअघि तत्कालिन एमाले र माओवादीबीचको एकातापछि बनेको (नेकपा)बाट माओवादी पृष्ठभूमीका कालीकोटका महेन्द्रबहादुर शाही, हुम्लाका कांग्रेसका जीवनबहादुर शाही, पूर्व माओवादी हालका प्रगतिशील लोकतान्त्रि पार्टीका रुकुमपश्चिका राजकुमार शर्मा र एमालेबाट सुर्खेतका यामलाल कँडेल मुख्यमन्त्री बनिसकेका छन्।
शाही मुगु प्रदेश सभा २ बाट तत्कालिन माओवादी र नेपाली कांग्रेसबीच भएको लोकतान्त्रिक बामगठबन्धनका तर्फबाट विजयी भएका थिए। शाहीले आठ हजार ४३९ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका कर्णबहादुर मल्लले चार हजार ८९३ मत प्राप्त गरेका थिए। त्यसपछि उनि कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहकारी विकास मन्त्री र केही दिन कार्यबहाक मुख्यमन्त्री बनेर काम समेत गरिसकेका छन् ।
मन्त्रालयमा आ–आफ्नै दाबी
यस्तै, कर्णाली प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सात वटा मन्त्रालयहरु छन्। यसअघि भएको नेकपा एमाले र नेपाली कांग्रेसबीचको गठबन्धनको सरकारमा एमालेले मुख्यमन्त्रीसहित ३ मन्त्रालय र कांग्रेसले ४ वटा मन्त्रालयको जिम्मा पाएको थियो। अहिले राजनीति समीकरण फेरिएर एमाले र नेकपाबीच सत्ता सहकार्य अगाडी बढेको छ। यस अवस्थामा नेकपाले सरकारको नेतृत्व गर्नेभएपछि एमालेले चार वटा मन्त्रालयमा संशक्त दाबी गरेको छ।
यसअघि कांग्रेसले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, जलस्रोत तथा उर्जाविकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण गरी चार वटा मन्त्रालयहरु समालेको थियो। नेकपा एमालेसँग मुख्यमन्त्री, भौतिक पूर्वाधार तथा सहकारी विकास र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय थिए। तर, नेकपासँगको सहकार्यमा पर्यटन मन्त्रालयको सट्टा कृषि मन्त्रालय आफैसँग राखेर कांग्रेसले समालेका अन्य मन्त्रालय एमालेले आफैसँग राख्ने रणनीति बनाएको छ।
नेकपा एमालेका एक केन्द्रीय सदस्यले चार वटा मन्त्रालय एमालेले पाउने गरी छलफल अगाडी बढेको जानकारी दिए। ‘हामीले आर्थिक मामिला तथा योजना, सामाजिक विकास, जलस्रोत तथा उर्जाविकास र कृषि मन्त्रालय पाउनुपर्ने माग छ,’ उनले भने, ‘पार्टीभीत्र यस किसिमको छलफल चरिहेको छ।’ साथै उनले यो समाचार तयार पार्दासम्म मन्त्रालय भागबन्डा तथा सरकार गठनका विषयमा प्रदेशस्तरमा दुइ दलबीच छलफल नचेको बताए।
नेकपाले पनि प्रदेश सभामा दोस्रो ठूलो दलको हवाला दिँदै मुख्यमन्त्रीसहित ४ मन्त्रालय आफुले पाउनुपर्ने दाबी गरेको छ । तर, स्रोतका अनुसार मुख्यमन्त्रीसहित ३ मन्त्रालय नेकपाले पाउने छ ।
यी हुन्, एमाले–नेकपाबाट मन्त्रीका आकांक्षी
यस्तै, नयाँ मन्त्रिमण्डल गठन हुनेभएपछि मन्त्रीका लागि सांसदहरुले आन्तरिक आकंक्षी र दलभीत्र लबिङ्ग गर्न थालेका छन्। नेकपा एमालेबाट हालका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दोहोरीने दाउमा छन्। उनि दैलेख निर्वाचन क्षेत्र नम्बर–२ प्रदेशसभा २ बाट निर्वाचित भएका थिए।
यस्तै, जुम्लाबाट निर्वाचित टेकराज पछाईं, मुगुका जीतबहादुर मल्ल, समानुपातिक सांसदहरु रुकुमपश्चिमकी तुलसा मल्ल, हुम्लाका कलबहादुर हमाल र कालीकोटी दक्षीणा शाहीको नाम मन्त्रीको लागि चर्चामा छ। तर, एमालेले चार वटा मन्त्रालयको पाएको खण्डमा विनोद, टेकराज, जीतबहादुर र तुलसा मल्लको मन्त्रीमा सम्भवना बढी रहेको स्रोतको दाबी छ।
यस्तै, नेकपामा सुर्खेतका विन्दमान विष्ट, कृष्णबहादुर जिसी, सल्यानका भीमप्रकाश शर्मा, हुम्लाका रणसिंह परियार र समानुपातिक सांसद रुकुमपश्चिमकी कल्याणी खड्कको नाम मन्त्रीका लागि चर्चामा छन्। यी मध्ये मुख्यमन्त्री मंगलबहादुर शाहीसँगै, विन्दमान विष्ट र कल्याणी खड्काको सम्भावना उच्च रहेको नेताहरुको भनाइ छ। तर, यो समाचार तयार पर्दासम्म दुई दलबीच मन्त्रालय भागबन्डाका विषयमा छलफल नभएका कारण उनिहरुले अहिले कुन मन्त्रालय पाउनेछन् भन्ने निश्चित छैन्।




