२०८३ भाद्र ३०, मंगलवार

सुर्खेत। कर्णाली प्रदेश सरकारले संविधान दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी असोज ३ गते भव्य रूपमा संविधान दिवस मनाउने भएको छ।

मुख्यमन्त्री मंगलबहादुर शाहीको अध्यक्षतामा मंगलबार बसेको संविधान दिवस मूल समारोह समितिको बैठकले संविधान दिवसका अवसरमा तीन दिनसम्म विभिन्न कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो।

सरकारकाे प्रवक्ता एवम् उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काले बैठकले असोज २ गते कर्णाली प्रदेशका सबै सरकारी कार्यालयका छतमा राष्ट्रिय झण्डा फहराउने र कार्यालय परिसरमा सरसफाइ गर्ने कार्यक्रम तय गरेको जानकारी दिइन्।

उनकाअनुसार असोज ३ गते बिहान वीरेन्द्रनगरको मंगलगढी चोकबाट र्‍याली निकालिने भएको छ। र्‍याली जिल्ला समन्वय समितिको हलमा पुगेर औपचारिक समारोहमा परिणत हुने जनाइएको छ।

असोज ३ गते साँझ वीरेन्द्रनगरस्थित घण्टाघर डबलीमा वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा दीप प्रज्वलन कार्यक्रमसमेत सञ्चालन गरिनेछ।

यसैगरी, असोज ४ गते विभिन्न सामुदायिक वन क्षेत्रमा वृक्षरोपण कार्यक्रम आयोजना गरिने भएको छ।