सुर्खेत। सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले सामान्य नाम फरक परेको योजनालाई कार्यान्वयनमा लैजान निर्देशन दिएका छन्।
शिक्षा विकास निर्देशनालय मातहत रहेका सामाजिक विकास कार्यालयहरुबिचको अर्ध वार्षिक समीक्षा कार्यक्रममा बोल्दै उनले नाम संसोधनका प्रक्रियामा धेरै समय खर्च भएकोले योजना कार्यान्वयनमा अब ढिलाइ नगर्न निर्देशन दिएका हुन।
ऐनले पूर्णत बन्देज गरेको बाहेकका योजना कार्यान्वयन गर्न उनले सुझाव दिए।
बजेट समर्पणको समय आइरहेको बेला बजेट कार्यान्वयन तर्फ उन्मुख हुन निर्देशन दिए।

निर्देशन दिने मात्र भन्दा पनि कार्यान्वयन तर्फ ध्यान दिन आग्रह गरे। सामाजिक विकास मन्त्रालयको कार्यक्षेत्र धेरै भएकोले जनताको आशा बमोजिम धेरै गुनासो आउने गरेको बताए।
बजेट खर्च भन्दा पनि रोक्ने तर्फ केन्द्रित नभई समस्यालाई समाधान गर्नुपर्ने बताए। स्थानीय तहहरू एकिन नभएको अवस्थामा स्थानीय कार्यपालिका लगायतको समन्वयमा योजना कार्यान्वयन गर्न सकिने बताए।
सामाजिक विकास कार्यालय केवल विद्यालय भवनमा बनाउने मात्र नभई अन्य सामाजिक क्षेत्रका क्रियाकलापमा सक्रिय हुन निर्देशन दिए।
महिला, बालबालिका, अपांगता, ज्येष्ठ नागरिक लगायत मानवीय विकास र पूँजी निर्माणमा समेत टेवा पुग्ने गरी काम गर्न मन्त्री भण्डारीले सुझाव दिए।
धार्मिक साम्प्रदायिक, पुरातात्विक सम्पदाको शोध अनुसन्धानमा समेत जोड दिनुपर्ने बताए।
यसैगरी, आगामी आर्थिक वर्षको योजना निर्माणको समय पनि भइरहेको हुँदा योजना छनोट कार्यविधि अनुरुप योजना फाइलिङ गर्न निर्देशन दिए।
गत वर्षहरूको अनुभवलाई सिकाइको रूपमा लिँदै आगामी वर्ष नाम संसोधन गर्न नपर्ने गरी सूचीकृत गर्न सुझाव दिए।

