राष्ट्रियसभा निर्वाचन

गठबन्धनका उम्मेदवारले जित्ने निश्चित

२०८२ माघ ११, आईतवार

सुर्खेत । कर्णालीबाट रिक्त हुने राष्ट्रियसभा सदस्यका लागि आइतबार (माघ ११) गते निर्वाचन हुँदैछ। रिक्त हुने दुई पदका लागि गत पुस २३ गते तीन दलले उम्मदेवारी दर्ता गराएका छन्। नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनविरुद्ध नेपाली कम्युनिस्ट पार्टी नेकपाले एकल उम्मेदवारी दिँदै चुनावी मैदानमा उत्रिएको छ।

आगामी फागुनमा एक राष्ट्रपतिबाट मनोनीतसहित १९ जना राष्ट्रियसभा सदस्यको पदावधि सकिँदै छ। तीमध्ये १८ सिटका लागि निर्वाचन हुन लागेको हो। बाँकी एक जना राष्ट्रपतिबाट मनोनीत हुनेछन्। फागुनमा पदावधि सकिनेमा कर्णालीका दुई जना छन्।

जसमा महिलातर्फ सुर्खेतकी सुमित्रा बीसी र अन्यतर्फ जाजरकोटका मायाप्रसाद शर्मा छन्।  यी दुई सिटमा काँग्रेस–एमाले र नेकपाबीच प्रतिस्पर्धा हुनेछ।

बीसी एमाले र शर्मा तत्कालीन माओवादी केन्द्रको कोटाबाट राष्ट्रियसभामा निर्वाचित भएका थिए।

४ उम्मेदवार मैदानमा
कर्णालीमा रिक्त हुने दुई पदका लागि चार जना चुनावी प्रतिस्पर्धामा छन्। काँग्रेस–एमालेको गठबन्धनबाट नेपाली काँग्रेसका कर्णाली प्रदेश सभापति जुम्लाका ललितजंग शाही र एमालेको केन्द्रीय सदस्य दैलेखी मिनासिंह रखाल उम्मदेवार छन्।

यस्तै, नेकपाको तर्फबाट रुकुमपश्चिमका बुद्धिप्रसाद शर्मा र डोल्पाकी अञ्जु महतारा शाही उम्मदेवार छन्।

अन्तिम समयमा तीन दलबीच भागवण्डा नमिलेपछि नेकपाले कर्णालीबाट रिक्त दुई पदमा उम्मदेवारी दर्ता गरेको छ।

यस्तो छ, अंकगाणित
कर्णालीमा प्रदेशसभा सदस्य र पालिका प्रतिनिधिको मतभारमा काँग्रेस–एमालेको बहुमत छ। यी दुई दलको कुल मतभार ३ हजार ५८ छ।

कर्णालीमा कार्यकाल सकिन लागेका राष्ट्रियसभा सदस्य कांग्रेसका एक जना पनि छैनन्। तर, कर्णालीमा कांग्रेस मतभारमा सबैभन्दा अगाडि छ। मतभारका हिसाबले दोस्रोमा नेकपा र तेस्रोमा एमाले छ। राष्ट्रिसभा सदस्य निर्वाचनमा प्रदेश सांसद र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउने संवैधानिक व्यवस्था छ।

जसअनुसार नगरपालिकाका प्रमुख-उपप्रमुख, गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्ष र प्रदेशसभा सदस्यको कुल मतभार ५ हजार १२२ छ।
कर्णालीमा काँग्रेससँग प्रदेशसभातर्फ १५ सांसद र ५९ पालिका प्रतिनिधि गरी कुल १ हजार ९११ मतभार छ।

यस्तै, तत्कालीन माओवादी केन्द्रका १३ प्रदेशसभा सदस्य र ४८ पालिका प्रतिनिधि गरी कुल १ हजार ६०१ मतभार छ। तत्कालीन एकीकृत समाजवादीको एक प्रदेशसभा सदस्यको ५३ मतभार र १० पालिका प्रतिनिधि गरेर २४३ छ। यसो हुँदा नेकपासँग कुल १ हजार ८४४ मतभार हुन्छ।

यस्तै, एमालेसँग १० प्रदेशसभा सदस्य र ३५ पालिका प्रतिनिधि गरी १ हजार १९५ मतभार छ। राप्रपाको १ प्रदेश सांसदको ५३ र ६ पालिका गरेर एक सय ६७ मतभार छ।

मतभार हेर्दा नेपाली काँग्रेस र एमालेबाट बनेको गठबन्धनबा उम्मेदवार निर्वाचित हुने निश्चित छ।

गठबन्धनलाई जिताउन एमालेको आग्रह
नेकपा एमाले कर्णाली प्रदेशसभा संसदीय दलले आगामी राष्ट्रियसभा निर्वाचनमा नेकपा एमाले र नेपाली कांग्रेसका संयुक्त उम्मेदवारलाई विजयी बनाउन अपिल गरेको छ।

शनिबार कर्णाली प्रदेशसभा भवनमा बसेको एमाले कर्णाली प्रदेशसभा संसदीय दलको बैठकले महिलातर्फ मीनासिंह रखाल र अन्यतर्फ ललितजंग शाहीलाई मतदान गरी विजयी बनाउन सबै जनप्रतिनिधिलाई अपिल गर्ने निर्णय गरेको हो।

यस्तै, नेपाली कांग्रेसले पनि गठबन्धनका उम्मेदवारलाई विजयी गराउँन सर्कुलर गरिसकेको छ। कांग्रेस कर्णाली प्रदेश समितिका प्रवक्ता दमनबहादुर शाहीले गठवन्धनका उम्म्देवारलाई विजयी गराउन कांग्रेस–एमाले प्रतिवद्ध भएर लागेको बताए।

उनका अनुसार मतदानमा सहभागी हुन पालिका प्रमुख÷उपप्रमुख, गाउँपालिका अध्यक्ष÷उपाध्यक्षहरु वीरेन्द्रनगर आइसकेका छन्। निर्वाचन बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ ।