काठमाडाैँ। नेपालले भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी– २० विश्वकपको आफ्नो अन्तिम खेलमा आज स्कटल्यान्डको सामना गर्दैछ। समूह ‘सी’ अन्तर्गतको खेल मुम्बईस्थित वानखेडे रंगशालामा नेपाली समयअनुसार राति ७ः १५ मा सुरु हुनेछ।
रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाल लगातार दोस्रो संस्कण जितविहिन हुने संघारमा छ। सन् २०१४ को डेब्यु विश्वकपमा २ जित निकालेको नेपाल सन् २०२४ को पछिल्लो संस्करणमा जितविहिन बनेको थियो। त्यसैले नेपाल जितका साथ प्रतियोगिताको अन्त्य गर्ने सोचमा छ।
नेपालले अघिल्ला तीनै खेल गुमाएको थियो। नेपालले यसअघि इंग्ल्यान्ड, इटाली र वेस्ट इन्डिजसँग पराजय व्यहोरेको थियो।
नेपालले आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, नन्दन यादवजस्ता खेलाडीलाई मैदान उतार्ने छ। आजको खेलमा बसिर अहमदले पनि मौका पाउने सम्भावना छ। यदी उनले खेल्ने अवसर पाएका गुल्सनकुमार झा बेन्चमा रहन सक्छन्।
यता, स्कटल्यान्ड पनि जितसहित प्रतियोगिता अन्त्य गर्ने लक्ष्यमा छ। यसअघि वेस्ट इन्डिज र इंग्ल्यान्डसँग हार व्यहोरेको स्कटल्यान्डले इटालीविरुद्ध जित निकालेको थियो।
रिचि बेरिङटनको कप्तानीमा रहेको स्कटल्यान्डलाई जर्ज मुन्से, माइकल जोनस, ओलिभर डेविडसन, ब्राड करीजस्ता खेलाडीले साथ दिनेछन्।
भाग्यमानी ठहरिएको स्कटल्यान्डले युरोपियन छनोट पार गर्न नसके पनि विश्वकप खेल्दै छ। बंगलादेशले भारतमा खेल्न अस्वीकार गरेपछि आईसीसीले स्कटल्यान्डलाई मौका दिइएको हो । स्कटल्यान्डले वरीयताका आधारमा विश्वकप खेल्न पाएको हो।
नेपालका लागि स्कटल्यान्ड नौलो प्रतिद्वन्द्वी होइन। टी– २० अन्तर्राष्ट्रियमा हालसम्म यी नेपाल र स्कटल्यान्डले २ खेल खेलेका छन्, जसमा दुवै टोलीले १–१ खेल आफ्नो पक्षमा पारेका छन्। गत वर्ष भएको शृंखलामा नेपालले २ विकेट तथा स्कटल्यान्डले ३४ रनको जित निकलेका थिए।

