काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा राजस्थान रोयल्सले गुजरात टाइटन्समाथि रोमाञ्चक जित हासिल गरेको छ। शनिबार राति अहमदाबादमा सम्पन्न खेलमा राजस्थान ६ रनले विजयी भएको हो।
राजस्थानले दिएको २११ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाएर २०४ रन मात्र बनायो। एक समय ११औं ओभरमा १०७-१ को अवस्थामा भएको गुजरातले त्यसपछि ५४ रनको बीचमा ६ विकेट गुमाएर १६१-७ को अवस्थामा पुगेको थियो।
त्यहाँबाट राशिद खान र कगिसो रबाडा मिलेर ४३ रनको साझेदारी गर्दै जितको नजिक पुर्याएपनि पर्याप्त भएन। अन्तिम २ ओभरमा १५ रन चाहिँदा जोफ्रा आर्चरले ४ रन मात्र दिए भने अन्तिम ओभरमा तुषार देशपान्डेले पनि ४ रन मात्र दिएर राशिदलाई आउट गरे।
ओपनर साइ सुदर्शनले ४४ बलमा ७३ रन बनाए । जस बट्लरले २६ रन बनाए भने राशिद खानले २४ रन बनाउँदा कगिसो रबाडाले अविजित २३ रन बनाए।
राजस्थानका लागि रवि बिश्नोईले ४ ओभरमा ४१ रन दिएर ४ विकेट लिए। नान्द्रे बर्गर, तुषार देशपान्डे र रियान परागले १-१ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर २१० रन बनाएको थियो। ध्रुव जुरेलले ४२ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ७५ रन बनाए।
ओपनरद्वय यशश्वी जैसवालले ५५ तथा वैभव सूर्यवंशीले ३१ रन बनाए। शिम्रोन हेटमायरले १८ रन बनाए।
गुजरातका लागि कगिसो रबाडाले २ विकेट लिँदा प्रसिध कृष्णा, अशोक शर्मा, राशिद खान र मोहम्मद सिराजले १-१ विकेट लिए।
लगातार दोस्रो जित निकालेको राजस्थान ४ अंकसहित शीर्षस्थानमा फर्किएको छ। लगातार दोस्रो हार बेहोरेको गुजरात अंकविहीन रहेर सातौं स्थानमा छ।

