एजेन्सी। इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ को पहिलो क्वालिफायरमा आज रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) र गुजरात टाइटन्स आमनेसामने हुँदैछन्।
धर्मशालामा खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ। विजेता टोली सिधै फाइनलमा पुग्नेछ भने पराजित टोलीले क्वालिफायर टु खेल्नुपर्नेछ। यो सिजन दुवै टोली उत्कृष्ट लयमा रहेका छन्।
आरसिबीले लिग चरणभर स्थिर प्रदर्शन गरेको थियो भने गुजरात पछिल्ला खेलमा झन् आक्रामक बनेको छ । गुजरातले दोस्रो चरणमा ७ मध्ये ६ खेल जित्दै बलियो चुनौती प्रस्तुत गरेको छ।
आरसिबीका लागि विराट कोहली, रजत पाटीदार र भुवनेश्वर कुमार मुख्य खेलाडीका रूपमा रहनेछन् ।गुजराततर्फ शुभमन गिल, जोस बटलर, राशिद खान र कागिसो रबाडामाथि धेरै आशा रहनेछ।
दुवै टोलीबीचको हेड टु हेड बराबरीमा छ। अहिलेसम्म एकअर्काविरुद्ध ८ खेल खेल्दा दुवैले समान ४ जित निकालेका छन्। तर प्लेअफमा भने यी दुई टोली पहिलो पटक भिड्न लागेका हुन्।
धर्मशालाको मैदानमा रातिको खेलमा लक्ष्य पछ्याउने टोलीलाई फाइदा हुने देखिएको छ। मौसम सफा रहने अनुमान गरिएकाले खेल पूरा हुने अपेक्षा गरिएको छ।




