२०८३ बैशाख १५, मंगलवार

काठमाडौँ । आइसीसी महिला टी–ट्वान्टी च्यालेन्ज ट्रफी अन्तर्गतको खेलमा मंगलबार नेपालले रूवान्डालाई ३८ रनले पराजित गरेको छ। किगालीस्थित गहङ्गा क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले रुवान्डालाई जितका लागि १०४ रनको लक्ष्य दिएको थियो।

जवाफमा घरेलु टोली १७.४ ओभरमा ६४ रन बनाउँद अलआउट भयो। नेपालकी मनिषा उपाध्यायले ३ विकेट लिइन्। चार ओभर बलिङ गरेकी उनले एक मेडन ओभर राख्दै १० रन मात्र दिइन्। कविता कुँवर, रचना चैधरी, रिया शर्माले २-२ विकेट लिए।

कप्तान इन्दु बर्माले अविजित ३३ रन बनाउँदा कविता २४ र रूविना क्षेत्रीले ११ रन बनाएका थिए।

नेपालले रूवान्डालाइ हराएको यो दोस्रो पटक हो। ७ खेलमा ३ खेल हारेको रूवान्डाको ८ अंक छ। ६ खेल खेलेको नेपाल तीन जितसहित अंक तालिकाको तेस्रो स्थानमा छ।

नेपालले प्रतियोगिताको आफ्नो पहिलो खेलमा अमेरिकासँग ४३ रनको हार व्यहोरेको थियो। त्यसपछि इटाली र रुवाण्डालाई पराजित गरेको नेपाल चौथो खेलमा भानुआटुसँग पराजित भएको थियो। अमेरिकासँग दोस्रो पटक पनि पराजित भएको थियो।

डबल राउण्ड रोबिन लिगपछि तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ।