वीरेन्द्रनगर। कर्णाली प्रदेशमा उपभोक्ता अदालतकाे स्थापना गर्न सरोकारवालहरुले माग गरेका छन्। आइतबार प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा भएको एक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्ताे माग गरेका हुन्।
उपभोक्ता हित संरक्षण मञ्च नेपाल, कर्णाली प्रदेशकाे आयोजनामा भएकाे उपभोक्ता हित संरक्षण आयम तथा उपचारहरु, उपभोक्ता अदालतका आवश्यकता र हाम्राे भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले उपभोक्ता अदालत अतिआवश्यक भएकोले स्थापना गर्नुपर्नेमा जाेड दिए।
कार्यक्रममा मञ्चका केन्द्रीय महासचिव वरिष्ठ अधिवक्ता विष्णुप्रसाद तिमिल्सेनाले उपभोक्ता अदालत स्थापना, अदालतमा परेका मुद्दा, सुशासन, उपभोक्ता हित संरक्षण, स्वच्छ बजार लगायतका विषयमा प्रस्तुतिकरण राखे।
अन्तरक्रियामा बाेल्दै अधिवक्ता बिवेचना खनालले बजारका विभिन्न फुटपातमा खुल्ला रुपमा पाउने चटपटे, पानीपुरी जस्ता खाने कुराहरुले नागरिकहरुकाे स्वास्थ्यमा गम्भीर असर पुग्ने बताइन्। उनले यस्ता खालका खाद्यबस्तुकाे गुणस्तरीयता चेकजाँच गर्नुपर्ने बताइन्।
यस्तै, सुर्खेत जिल्ला अदालत बार एशोसिएशन अध्यक्ष अधिवक्ता माेतिराम शर्माले बजारमा अखाद्य बस्तुहरु खुल्ला रुपमा बिक्रि हुने गरेकाे गुनासाे बढ्ने गरेकाे बताउँदै उनले सबै मिलेर अनुगमनमा जाेड दिन आग्रह गरे।

उच्च अदालत बार एशोसिएशन अध्यक्ष हिमालयजंग शाहीले नागरिकहरुले स्वस्थ्य खाद्यबस्तु उपभाेग गर्न पाउनुपर्ने बताए। ‘आम उपभाेक्ताहरुले गुणस्तरीय खाद्यबस्तु खान पाउनुपर्छ। हामी नागरिक समाजका अगुवाहरुले पनि उनिहरुकाे न्ययाका लागि सहयाेग गर्नुपर्छ’, उनले भने, ‘कर्णाली प्रदेशमा उपभोक्ता अदालत स्थापनाका लागि बार एशोसिएशनको तर्फबाट गर्नुपर्ने सहयाेग हुन्छ।’
कार्यक्रममा बाेल्दै वीरेन्द्रनगर नगरपालिकाका नगर-उपप्रमुख निलकण्ठ खनालले बजार अनुगमन लगायतका विषयमा उपभाेक्ता हित संरक्षण मञ्च र नगरपालिका मात्रै नभएर सबै निकायले संयुक्त रुपमा गरेपछि प्रभावकारी हुने बताए।
साथै उनले कर्णाली प्रदेशमा उपभोक्ता अदालत स्थापनाका लागि नगरपालिकाबाट गर्न सकिने आवश्यक सहयोग गर्नका लागि तयार दाबी गरे।
यस्तै, अन्तरक्रिया कार्यक्रमलाई सम्बाेधन गर्नै कार्यक्रमका प्रमुख अतिथि सुर्खेत जिल्ला अदालतका न्यायाधीश दिलीपराज पन्तले उपभाेक्ता अदालत कर्णालीमा आवश्यक रहेकाे बताए। साथै उनले सुर्खेतमा मुद्दाकाे चाप पनि अत्याधिक भएका कारण यस प्रकारकाे अदालत भएपछि फास्ट ट्रयाकबाट काम गर्ने सकिने बताए।
कार्यक्रमकाे समापन गर्दै उपभाेक्ता हित संरक्षण मञ्चका कर्णाली अध्यक्ष बिन्दुलाल रेग्मीले उपभोक्ताकाे सवाल कर्णाली प्रदेशकै मुल मुद्दा भएकाे बताउँदै सबै सराेकारवाला निकायहरुले आ-आफ्नाे ठाउँबाट साथ र सहयाेग गर्न आग्रह गरे।

