सुर्खेत। इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड (ईसीबी) ले पहिलोपटक नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग अन्तर्राष्ट्रिय शृंखला खेल्न नेपाल भ्रमण गर्ने सम्भावनाबारे गृहकार्य थालेको छ।
प्रस्तावित भ्रमण सफल भएमा इंग्ल्यान्ड नेपाल भ्रमण गर्ने हालसम्मकै सबैभन्दा ठूलो टेस्ट राष्ट्र बन्नेछ।
अन्तर्राष्ट्रिय क्रिकेटसम्बन्धी सञ्चारमाध्यमका अनुसार ईसीबीले नेपालसँग छोटो ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला आयोजना गर्ने विषयमा विभिन्न विकल्पमाथि छलफल गरिरहेको हो।
नेपालमा क्रिकेटप्रतिको बढ्दो आकर्षण, दर्शकको उल्लेखनीय समर्थन र नेपाली टोलीको पछिल्लो प्रदर्शनलाई ध्यानमा राख्दै इंग्ल्यान्डले नेपाल भ्रमणलाई प्राथमिकतामा राखेको बताइएको छ।
पछिल्ला वर्षहरूमा नेपाली क्रिकेट टोलीले अन्तर्राष्ट्रिय स्तरमा प्रभावशाली प्रदर्शन गर्दै विश्व क्रिकेटमा आफ्नो उपस्थिति बलियो बनाउँदै आएको छ। विशेषगरी ट्वान्टी–२० ढाँचामा नेपालले स्थापित टोलीहरूलाई चुनौतीपूर्ण प्रतिस्पर्धा दिँदै आएको छ।
यद्यपि प्रस्तावित भ्रमणको मिति, खेल तालिका तथा स्थानबारे औपचारिक घोषणा भने भइसकेको छैन। दुवै देशका क्रिकेट निकायबीच प्रारम्भिक चरणको छलफल जारी रहेको र निकट भविष्यमा थप विवरण सार्वजनिक हुन सक्ने अपेक्षा गरिएको छ।




