नयाँदिल्ली। पञ्जाब किङ्स (पीबीकेएस) ले उत्कृष्ट सुरुवातलाई निरन्तरता दिँदै चेन्नई सुपर किङ्स (सीएसके) लाई पाँच विकेटले पराजित गरेको छ। चेन्नईस्थित एम. चिदम्बरम स्टेडियममा भएको उच्च स्कोरको खेलमा पञ्जाबले सहज जित हात पारेको हो।
टस जितेर पहिले बलिङ रोजेको पञ्जाबलाई सुरुवातमा दबाब परेको थियो। सञ्जु सामसन ७ रनमै आउट भए पनि कप्तान ऋतुराज गायकवाड र १८ वर्षीय आयुष म्हात्रेले उत्कृष्ट साझेदारी गर्दै टोलीलाई बलियो अवस्थामा पुर्याए। दुवैले ५५ बलमा ९६ रनको साझेदारी गर्दै खेल चेन्नईको पक्षमा ढल्काएका थिए।
म्हात्रेले आक्रामक ब्याटिङ गर्दै ४३ बलमा ७३ रन बनाए, जुन १९ वर्ष नपुगेका खेलाडीमध्ये आईपीएल इतिहासकै तेस्रो ठूलो स्कोर हो। गायकवाडले २२ बलमा २८ रन बनाएर युजवेन्द्र चहलको बलमा आउट भए।
त्यसपछि पनि चेन्नईले आक्रामकता कायम राख्यो। शिवम दुबेले २७ बलमा अविजित ४५ रन बनाउँदा सरफराज खानले १२ बलमा ३२ रनको तिव्र इनिङ्स खेले। अन्तिम ओभरहरूमा तीव्र गतिमा रन जोड्दै चेन्नईले २०९/५ को ठूलो स्कोर बनायो।
पञ्जाबका लागि चहलले किफायती बलिङ गर्दै ३ ओभरमा २१ रन दिएर १ विकेट लिए। विजयकुमार व्यशकले २ विकेट लिए पनि अन्य बलर महँगा सावित भए।
जवाफमा पञ्जाबले आक्रामक सुरुवात गर्यो। युवा ओपनर प्रियान्श आर्याले पहिलो ६ बलमै ५ चौका प्रहार गर्दै टोलीलाई तीव्र सुरुवात दिलाए। उनले ११ बलमा ३९ रन बनाएर आउट भए।
त्यसपछि प्रभसिमरन सिंहले ३४ बलमा ४३ रन बनाए। कुपर कोनोलीले २२ बलमा ३८ रन थपे। कप्तान श्रेयस अय्यरले २९ बलमा अर्धशतक प्रहार गर्दै टोलीलाई जिततर्फ डोर्याए।
अन्त्यतिर केही विकेट गुमाए पनि मार्कस स्टोइनिस र शशांक सिंहले संयमित खेल देखाउँदै पञ्जाबलाई १७ बल अगावै लक्ष्य पूरा गराए।
चेन्नईका लागि म्याट हेनरी (२/५४) र अंशुल काम्बोज (२/४३) ले मात्र विकेट लिए।
उत्कृष्ट सुरुवातका लागि प्रियान्श आर्यालाई ‘प्लेयर अफ द म्याच’ घोषित गरियो। यस जितसँगै पञ्जाबले लगातार दोस्रो जित दर्ता गरेको छ भने चेन्नई अझै पहिलो जितको खोजीमै छ।

