मुगु। नेपालको सबैभन्दा ठूलो तथा सुन्दर हिमाली ताल रारा ताल मा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएको छ। प्राकृतिक सौन्दर्य, शान्त वातावरण र हिमाली दृश्यावलोकनका कारण रारा पर्यटकहरूको प्रमुख रोजाइ बन्दै गएको हो।
रारा राष्ट्रिय निकुञ्ज भित्र अवस्थित रारा ताल समुद्री सतहबाट करिब २ हजार ९ सय ९० मिटर उचाइमा रहेको छ। नीलो पानी, वरिपरिको हरियाली वन, दुर्लभ वन्यजन्तु तथा हिमशृङ्खलाको मनोरम दृश्यले पर्यटकलाई लोभ्याउने गरेको छ।
पर्यटन व्यवसायीहरूका अनुसार सडक तथा हवाई पहुँचमा क्रमशः सुधार आउँदा रारामा घुम्न आउने पर्यटकको संख्या वृद्धि भएको छ। विशेषगरी नेपाली पर्यटकहरूले बिदा तथा पर्वका अवसरमा रारालाई प्राथमिक गन्तव्यका रूपमा रोज्ने गरेका छन्।
स्थानीय व्यवसायीहरूका अनुसार पर्यटक आगमन बढेसँगै होटल, होमस्टे, यातायात तथा स्थानीय उत्पादनको व्यापारमा समेत सकारात्मक प्रभाव परेको छ। राराको पर्यटन प्रवर्द्धनले स्थानीय रोजगारी सिर्जना हुनुका साथै मुगुको आर्थिक गतिविधिमा टेवा पुगेको छ।
पर्यटन सरोकारवालाहरूले राराको दीगो विकासका लागि पूर्वाधार विस्तारसँगै वातावरण संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताएका छन्। प्राकृतिक सम्पदाको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्न सके रारा नेपालको प्रमुख अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा थप स्थापित हुने विश्वास गरिएको छ।
यहाँ कस्तुरी मृग, थार, भालु, बँदेल आदि पाइन्छन्। रारा तालमा पाईने केही थरीका मछाहरू संसारको अन्य कतै पाईंदैन। यस निकुञ्जमा पंक्षीहरू कालिज तथा डाँफे आदि पाइन्छन्।
तस्बीरहरु उपेनजंग कठायत












