२०८३ असार २५, बिहीबार

वीरेन्द्रनगर। नेपाली कांग्रेसको सदस्यता अध्यावधिक गर्ने अभियानको विरोध गर्दै आएका निवर्तमान उपसभापति पूर्णबहादुर खड्काको गृह जिल्लाका प्रभावशाली नेताहरूले सदस्यता अध्यवधिक गर्न थालेका छन्।

निवर्तमान उपसभापति खड्काको दवावमा अहिलेसम्म सदस्यता अध्यावधिक नगरेका सुर्खेतका केही नेता तथा कार्यकर्ताहरू अब भने अध्यावधिक गराउने निर्णयमा पुगेका हुन्।

अध्यावधिक नगरेका जिल्ला सभापतिकै अध्यक्षतामा बसेको बैठकले सबैलाई अध्यावधिकका लागि अनुरोध गर्ने निर्णय गरेको छ। बैठकले सबै पालिकामा अध्यावधिकका लागि स्थानीय प्रतिनिधिहरूलाई समेत खटाएको छ भने उनीहरूलाई अध्यावधिकका बारेमा प्रशिक्षण समेत दिएको थियो।

आज खड्काका अति विश्वासपात्र मानिने कांग्रेस सुर्खेतका सभापति खड्गबहादुर पोखरेलले अध्यावधिक गरेका अध्यावधिक अभियानका लागि खटिएका कांग्रेसका केन्द्रीय प्रतिनिधि लेखनाथ पोखरेलले जानकारी दिए।

जिल्ला सभापतिले नै अध्यावधिक गरेर जिल्लाका सबै कार्यकर्ताहरुलाई अभ्यावधिक गराउने अभियान सुरु गरेका हुन्। सदस्यता अध्यावधिक अभियानका लागि आगामी २७ गतेसम्म म्याद थप्न पनि नेपाली कांग्रेस सुर्खेतले समय माग गरेको छ।

पार्टीका जिल्ला सचिवद्वय देवकुमार सुवेदी र बालदिप कंडेलले केन्द्रीय कार्यालयलाई संयुक्त निवेदन लेख्दै अध्यावधिकको समय २७ गतेसम्म थप गर्न माग गरेका हुन्।

जिल्लामा रहेर सक्रिय राजनीति गर्दै आएका पार्टीका कर्णाली प्रदेश महामन्त्री निरन्जन केसी, कोषाध्यक्ष खगिसरा आचार्य लगायतका नेता कार्यकर्ताहरूले पनि आज अध्यावधिक गरेको केन्द्रीय प्रतिनिधि पोखरेलले जानकारी दिए।

सुर्खेतमा कांग्रेसका सभापति गगनकुमार थापा तथा नेता डा शेखर कोईराला निकट नेता कार्यकर्ताहरूले यसअघि नै अध्यावधिक गरेपनि खड्का निकट नेता कार्यकर्ताहरूले अध्यावधिक गरेका थिएनन्।