२०८३ श्रावण ५, मंगलवार

वीरेन्द्रनगर। सुर्खेतको वीरेन्द्रनगरमा स्थापना गरिएको कर्णाली प्रदेशकै पहिलो भैंसी विकास स्रोत केन्द्र सञ्चालनमा आएको छ। मंगलबार कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले स्रोत केन्द्रको उद्घाटन गरेका हुन्।

पशु अस्पताल तथा पशु सेवा कार्यालय वीरेन्द्रनगर सुर्खेतको वार्षिक कार्यक्रम अन्तरगत यशोदा कृषि तथा पशुपन्छी फर्मले करिब २ करोड लागतमा वीरेन्द्रनगर–१३, करेखोलामा स्रोत केन्द्र सञ्चालनमा ल्याएको हो।

व्यावसायिक पशुपालनको प्रवद्र्धन, उन्नत नश्ल सुधार तथा स्थानीयस्तरमा स्वरोजगार सिर्जना गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको स्रोत केन्द्रको उद्घाटन गर्दै मन्त्री शाहले स्थानीय युवा तथा किसानहरुलाई व्यावसायिक भैंसीपालनमा आकर्षित गरी स्वरोजगार बनाउन प्रदेश सरकारबाट सहुलियत पूर्ण कार्यक्रमहरु सञ्चालन गरिएको बताए।

मन्त्री शाहले व्यवसायिक रुपमै भैंसीपालनलाई बढावा दिन प्रदेश सरकारले कृषि तथा पशुपन्छी स्रोत केन्द्र स्थापना तथा विकास कार्यक्रम, भैसी स्रोत केन्द्र स्थापना तथा विकास कार्यक्रम, स्थानीय कुखुरा र विशिष्टीकृत जातका पन्छी स्रोत केन्द्र स्थापना तथा विकास कार्यक्रम सञ्चालनमा ल्याएको बताए।

उनले भने, ‘ प्रदेश सरकारले ठूला कृषकका लागि ७ प्रतिशत व्याज अनुदान कार्यक्रम ल्याएर कृषक तथा कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ।’

यस्तै, पशु अस्पताल तथा पशु सेवा कार्यालय सुर्खेतका प्रमुख डाक्टर ऋषभ गुरागाईले आर्थिक वर्ष २०८२/०८३को स्वीकृत वार्षिक विकास कार्यक्रमबाट स्रोत केन्द्रको स्थापना गरिएको जानकारी दिए। उनले उक्त स्रोत केन्द्रले किसान तथा उपभोक्तहरुलाई भैंसीको नश्ल सुधारका लागि उन्नत जातका पाडापाडी उत्पादन गरी वितरण गर्ने विश्वास व्यक्त गरे।

साथै उनले नश्ल सुधार, दूध उत्पादन वृद्धि तथा व्यावसायिक पशुपालनलाई प्रवद्र्धन गर्न केन्द्रलाई कार्यालयले प्राविधिक तथा अन्य सहयोग गर्न तयार रहेको दाबी गरे।

उद्घाटन कार्यक्रममा बोल्दै कृषि विकास कार्यालय सुर्खेतका प्रमुख चित्रबहादुर रोकायले किसानहरुलाई कृषि तथा पशुलाई एकीकृत गरी व्यावसायिक उत्पादनतर्फत केन्द्रित हुन सुझाव दिँदै स्रोत केन्द्रले दूध तथा मासुको उत्पादन बढाउनेमा विश्वास व्यक्त गरे।

कार्यालयले स्वीकृत कृषि तथा पशुपन्छी श्रोतकेन्द्र स्थापना तथा विकास कार्यक्रम, भैसी श्रोत केन्द्र स्थापना तथा विकास कार्यक्रम, स्थानीय कुखुरा र विशिष्टीकृत जातका पन्छी श्रोत केन्द्र स्थापना तथा विकास कार्यक्रम अनुसार स्थापना भएका भैसी तथा स्थानीय जातका कुखुराको स्रोतकेन्द्रको उद्घाटनसँगै स्रोतकेन्द्र दर्ता सम्बन्धी प्रमाण पत्र वितरण समेत गरेको छ।