इनिशा मृत्यु प्रकरण:

प्रेमीको बयानः इनिशासँग चारवर्षदेखि चिनजान, पहिला पनि शारीरिक सम्पर्क

२०८२ चैत्र १६, सोमबार

सुर्खेत । जिल्ला सरकारी वकिल कार्यालय सुर्खेतले इनिशा विकको सामुहिक बलात्कारपछि हत्या भएको भन्दै जिल्ला अदालत सुर्खेतमा अभियोग पत्र दायर गरेको छ।

चैत ११ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनाको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको थियो। सरकारी वकिल कार्यालयले उक्त प्रतिवेदनमाथि अध्ययन गरी पूर्वयोजना अनुरुप पक्राउ परेका चारै जनाले सामुहिक बलात्कारपछि हत्या गरेको अभियोग पत्रमा उल्लेख छ।

यसअघि प्रहरीले वकिल कार्यालयमा बुझाएको प्रतिवेदनमा सामुहिक नभइ एकल करणी भएको र त्यसपछि मृत्यू भएको निष्कर्ष निकालेको थियो। इनिशाका प्रेमी भन्ने १६ वर्षीय किशोरले जबरजस्ती करणी गर्दा संवेदनशील अङ्ग च्यातिएको र अत्यधिक रक्तश्राव हुँदा मृत्यु भएको निष्कर्षमा प्रहरी पुगेको थियो।

प्रहरीले उनी विरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यान सम्बन्धी मुद्दा कसुरमा जन्मकैदको मागसहित आफ्नो अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको थियो। तर, सरकारी वकिल कार्यालयले सामुहिक करणीबाट मृत्यु भएको अभियोग पत्र अदालतमा दायर भएको छ।

वकिल कार्यालयले जवर्जस्ती करणी गरी ज्यान मारेको (कर्तव्य ज्यान) मुद्धा सम्बन्धमा सुर्खेत जिल्ला अदालत, बाल ईजलासमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम अभियोग पत्र दायर गरेको हो।

गत फागुन २३ गते बिहान साढे ९ बजेको समयमा सुर्खेतको गुर्भाकोट नगरपालिका–६ बडाखोली घरभइ वीरेन्द्रनगर नगरपालिका–१ बस्ने १६ वर्षीय इनिशाको शव फेला परेको थियो। सुर्खेतको वीरेन्द्रनगर–४ को जनजागरण सामुदायिक वनमा उनि मृत फेला परेकी थिइन्।

वीरेन्द्रनगर–६ मा रहेको उषा बाल वाटिका माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत उनि बिहान ६ बजे स्कुलमा प्रायोगात्मक परीक्षा दिन भनेर घरबाट निस्किएकी थिइन्। इनिशा अचेत अवस्थामा रहेको भेटेपछि स्थानीय तथा प्रहरीले प्रदेश अस्पताल कालागाउँ सुर्खेत पु¥याएका थिए। त्यहाँ लगेको केही समयमा चिकित्सकले मृत घोषणा गरे। प्रहरीले बलात्कारपछि हत्या भएको आशंमा उनका प्रेमी १६ वर्षीया किशोरलाई सोही दिननै पक्राउ गरेको थियो।

घटनास्थलमा पुगेकी इनिशाकी आमा तिला विकले छोरीको कम्मरभन्दा तलको भागबाट रगत बगिरहेको देखिन्। ‘कपाल भुत्लाइएको थियो। जिउभरी रगतै–रगत थियो’, उनले भनिन्, ‘मेरो छोरीको शरीर हेर्न सक्ने अवस्थामा थिएन।’

आफन्तले इनिशालाई जवरजस्ती करणी गरेर हत्या गरिएको भन्दै प्रहरीमा प्रेमी भनिएको १६ वर्षीय एक किशोरसहित अन्य तीन जना नाबालक किशोरविरुद्ध जाहेरी दर्ता गरेका थिए। त्यसपछि प्रहरीले गत फागुन २४ गते थप तीन जनालाई नियन्त्रणमा लिइ अनुसन्धान थाल्यो।

त्यसपछि इनिशाको पोष्टमार्टका लागि भेरी अस्पताल बाँकेका फरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यको टोलीले प्रदेश अस्पताल सुर्खेतमा पुगेका थिए। उक्त पोस्टमार्टम रिपोर्टमा जबरजस्ती करणी गर्दा मृतकको संवेदनशील अङ्ग च्यातिएको र अत्यधिक रक्तश्राव हुँदा मृत्यु भएको उल्लेख भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले बताएको थियो।

जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) सुधिरराज शाहीले इनिशाको बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको पोस्टमार्टम रिपोर्टले देखाएको बताएका थिए। ‘बलात्कारपछि मृत्यु भएको हो भन्ने रिर्पोट आएको छ’, एसपी शाहीले भनेका थिए, ‘सामूहिक बलात्कार हो वा होइन भन्ने विषयमा थप अनुसन्धानका लागि प्रक्रिया अघि बढेको छ।’

त्यपछि प्रहरीले पीडित तथा पक्राउ परहेकाहरूको मोबाइल डिजिटल फरेन्सिक परीक्षण, नेपाल प्रहरी प्रदेश कार्यालय, नेपालगञ्जबाट ‘पोलिग्राफ टेस्ट’ गर्ने टोली र ‘सिन एनालाइसिस’ गर्ने प्राविधिक टोली, अनुसन्धानलाई थप प्रभावकारी बनाउनका लागि जिल्ला प्रहरी कार्यालय, सुर्खेतले छुट्टै टोली गठन र केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरो (सीआईबी) बाट प्राविधिक निर्देशनसहितको टोली सुर्खेत पुगेर अनुसन्धन गरेको थियो।

यी सबैको अनुसन्धानले घटना घटेको २० दिनपछि इनिशाको बलात्कारपछि हत्या भएको तर, सामुहिक नभएको निष्कर्षसहितको प्रतिवेदन प्रहरीले सरकारी वकिल कार्यालयमा पेस गरेको थियो। ‎मुख्य अभियुक्त भनिएका किशोरले बयानका क्रममा इनिशा बेहोस भएपछि अस्पताल लैजान अन्य तीन जनालाई सहयोगका लागि बोलाएको बयानमा भनेका छन्।

प्रहरीले अन्य तीन जनाविरुद्ध जबरजस्ती करणी नगरेको तर, ज्यान सम्बन्धी कसुरमा मुद्दा चलाउने गरी प्रतिवेदन तयार गरेको थियो। तर, वकिल कार्यालयले चारै जनाले जवर्जस्ती करणी गरी ज्यान मारेको (कर्तव्य ज्यान) मुद्धा सम्बन्धमा सुर्खेत जिल्ला अदालत, बाल ईजलासमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम अभियोग पत्र दायर गरेको जनाएको छ।

फोन गरेर बोलाएपछि, सामुहिक बलात्कारः सरकारी वकिल कार्यालय

जिल्ला सरकारी वकिल कार्यालय सुर्खेतले अदालतमा दायर गरेको अभियोग पत्रमा इनिशाको बलात्कारपछि हत्या पूर्वयोजना अनुसार भएको दाबी गरिएको छ।

प्रकाउ परेका इनिशाका प्रेमी भनिने परिवर्तित नाम ‘वीरेन्द्रनगर प’ र उनीसँगै पक्राउ परेका उनका साथीहरु परिवर्तित नाहरु ‘वीरेन्द्रनगर ध’, ‘न’ र ‘फ’ ले एक आपसमा मिलेर पूर्वयोजना बनाएर गत फागुन २३ गते बिहान वीरेन्द्रनगर नगरपालिका–४ स्थित जनजागरण सामुदायिक वनको जंगलमा इनिशालाई बोलाएर सामुहिक रुपमा जवर्जस्ती करणी गरेको र जबरजस्ती करणीका कारण मृतकको योनीबाट अत्याधिक रक्तश्राव भई सोही कारण मृतकको मृत्यु भएको देखिँदा जवर्जस्ती करणी गरी ज्यान मारेको (कर्तव्य ज्यान) मुद्दाको वारदात स्थापित हुन आएको दाबी गरिएको छ।

इनिशाका प्रेमी भनिएका ‘वीरेन्द्रनगर प’ले उनलाई प्रेमजालमा पारी ललाई फकाई विभिन्न प्रलोभनमा पारी घटना घटेको दिन बिहान उक्त स्थानमा लगेर आफ्ना अन्य साथिहरुलाई बोलाएर सबै जना मिलेर सामूहिक रुपमा जबरजस्ती करणी गरेका सरकारी वकिल कार्यालयले दायर गरेको अभियोग पत्रमा उल्लेख छ।

यस्तै, इनिशा बेहोस भएपछि ‘वीरेन्द्रनगर प’ले अन्य साथीहरुलाई फोन गरी सहयोगको लागी बोलाएको भन्ने बयान दिएपनि सो भनाई अन्य स्वतन्त्र प्रमाणबाट पुष्टी नभएको, चारै जना वारदात समयमा वारदात स्थलमा उपस्थित भएको र पोष्टमार्टम रिर्पोटबाट पनि बलात्कारपछि हत्या सँगै शरिरको विभिन्न भागमा घाउचोट तथा निलडामहरु देखिएका शव परिक्षण प्रतिवेदनमा उल्लेख भएकाले चारै जना उपर सामूहिक रुपमा जबरजस्ती करणी गरी ज्यान मारेको भनी किटानी जाहेरी समेत परेको विषय अभियोग पत्रमा समावेश छ।

यस्तै, सरकारी वकिल कार्यालयले टिभी क्यामेराको फुटेजबाट मृतक र ‘वीरेन्द्रनगर प’ अलि समय अगाडी र अन्य तीन जना अलि समय पछाडी वारदातस्थलतर्फ गएको देखिएता पनि मौकामा यी चारै जना बालकहरु वारदातस्थलमा उपस्थित देखिएको तर उनिहरु उद्दारको कार्य गरेका भन्ने नदेखिएको बताएको छ।

सरकारी वकिल कार्यालयले उक्त घटनाको विवरण प्रहरीले अनुन्धान सकेर वकिल कार्यालयमा पेश गरेको प्रतिवेदनमा सहित प्राप्त हुन आएको प्रस्तुत मुद्दाको मिसिल संलग्न जाहेरी दरखास्त, घटनास्थल लासजाँच मुचुल्का, कानूनको विवादमा परेका बालकहरुको सोधपुछ कागज, अनुसन्धानको क्रममा बुझिएका मानिसहरुको घटना विवरण कागज, मृतकको शव परीक्षण प्रतिवेदन, सिसि टिभि फुटेज, केन्द्रिय अनुसन्धान ब्युरोको प्रतिवेदन समेतका आधार प्रमाणका रुपमा प्रस्तुत गरेको छ।

अनुसन्धानका क्रममा प्रकाउ परेका चारै जना किशोरहरु, घटना आसपासका स्थानीयहरु, वनका वन पाले, इनिशाका आफन्त तथा विद्यालयका साथीहरु, विद्यालयका शिक्षकहरु लगायत गरी ३१ जना सँग बयान लगिएको छ। उक्त बयानहरु र प्रहरीका विभिन्न कोणबाट गरिएका अनुसन्धान, पोष्टमार्टम रिपोर्ट लगायतका विभिन्न कागजात गरि १६३ वटा प्रमाणहरु वकिल कार्यालयले अदालतमा पेश गरेको छ।

प्रेमीको बयानः चार वर्षदेखि चिनजान, पहिला पनि शारीरिक सम्पर्क

यस्तै, इनिशाका प्रेमी भनिने ‘वीरेन्द्रनगर प’ले आफुहरुबीच चार वर्ष पहिलादेखि चिनजान भएको बयान दिएका छन्। उनिहरुबीच वीरेन्द्रनगर नगरपालिका–६ मा रहेको उषा बालबाटिका आज भन्दा चार वर्ष पहिला कक्षा ८ मा पढ्दा चिनजान भएको थियो।

२०८१ सालमा इनिशा र उक्त किशोरबीच प्रेम सम्बन्ध बढ्दै गएपछि इनिशाले माया गर्छु भनी प्रस्ताव राखेकी र आफुले स्वीकार गरेको बताएका छन्।

‘स्कुलमा आएको बेलामा एक अर्काबीच माया प्रेमको कुरा गर्दै आएका थियौ। नम्बर साटा/साट गरी फोन तथा ह्वाट्एपमा माया प्रेमको कुरा गर्दै आएकोमा आज भन्दा ३/४ महिना अगाडी सुर्खेतको कपासे घुम्न गई जंगलमा गई सहमतीमा शारीरिक सम्बन्ध राखेका थियौं।’ ती किशोरले बयानमा भनेका छन्, ‘२०८२ माघ महिनामा शारीरिक सम्बन्ध राख्नका लागि अस्थायी साधन कण्डम आवश्यक परेकोले मैले मेरो घर नजिकैको चिनजानको भाई चार सय दिएर अस्थायी साधन कण्डम ल्याउन पठाएको थिए। ६ वटा ल्याएर मलाई दिएका थिए। ती मध्ये इनिशासँग शारीरिक सम्बन्ध राख्नको लागि चाहिन्छ भनी आफ्नो झोलामा राखेको थिए।’

त्यसपछि गत फागुन १६ गते इनिशासँग शारीरिक सम्बन्ध राख्ने विषयमा कुरा भएका उनले बयानमा भनेका छन्। ‘उक्त दिन आयुर्वेदिक अस्पतालको चोकमा बोलाए। म अटोमा आए। हामी हिड्दै बिहान ११ बजेको सयमा सोही स्थान जनजागरण सामुदायिक वनमा गएर सहमतीमा कुनै अस्थायी साधन प्रयोग नगरी शारीरिक सम्बन्ध राखेको थिए।’

त्यसपछि फागुन २२ गते प्रेमी ‘वीरेन्द्रनगर प’ले पुनः शारीरिक सम्बन्ध राख्न ह्वाट्सएपमा फोन गरी सामान किनिदिने बताए। इनिशाले चुरा र गजरा किनी ल्याउन अनुरोध गरिन्।

ती किशोरले घरमै केरा, बिस्कुट र चकलेट मिक्स गरेर एउटा केक बनाएर २२ गते साँझको समयमा वीरेन्द्रनगर बजार गएर १ दर्जन चुरा र टाउँकोमा लगाउने गजरा किनेर झोलामा राखे। उक्त दिन वीरेन्द्रनगर–८ मा रहेको आफ्नो ठूलो बुवाको घरमा बास बसेर फागुन २३ गते बिहान ०५ः३० बजेको समयमा घरबाट निस्केको बयान उल्लेख छ।

त्यसपछि इनिशा र किशोरको बिहान ६ः५ बजेको सयमा भेट भएर हात समाउँदै जनजागरण सामुदायिक जंगलतर्फ लागे।

‘जंगलमा गई बसी कुराकानी गर्दा उनले (इनिशा)ले आफू थाकेको छु भनी मेरो काखमा पल्टिएर थकान मेटी पुनः सो स्थानबाट चिहानडाँडा मानिस गाड्ने स्थानमा गई पुनः तलतिर फर्की सम्म भएको ठाउँमा गई वसी कुराकानी गर्ने क्रममा मैले निजलाई थाकेको जस्तो मानी बिरामी हुनुहुन्छ भन्दा निजले छैन भनेपछि मैले शारीरिक सम्बन्ध राखौ भनेकोले निजले हुन्छ भनिन्’ बयानमा ती किशोरले बनेका छन्।

त्यसपछि उनिहरु बिहान ८ बजेको समयमा शारीरिक सम्पर्क राख्दै गर्दा इनिशालाई खोकी लागेको बताएका छन्। त्यसपछि योनीबाट रगत अत्याधिक मात्रामा बगेर दुवै जनालृ गाएको कपडामा लागेको उनको भनाइ छ।

त्यसपछि इनिशा रिङ्गाटा लागेर भुईमा ढलेर वेहोस भएको र सम्झाउँदै साथीहरु परिवर्तित नाम ‘वीरेन्द्रनगर ध’ लाई फोन गरी म र ‘वीरेन्द्रनगर क५३’ भन्दा माथिको जंगलको डाँडामा छौ ‘वीरेन्द्रनगर क५३’ बेहोस छन सहयोग गर्न आइदिनुहोस् भनी बिन्ती गरेको बयान ती किशोरले दिएका छन्।

सिआइबीको प्रतिवेदन

यस्तै, इनिशाको बलात्कारपछि हत्याको अनुसन्धन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट पनि गरिएको थियो। उक्त टोलीले पेश गरेको प्रतिवेदन व्यहोरा यस्तो छ।

इनिशाका प्रेमी भनिने किशोर परिवर्तित नाम ‘वीरेन्द्रनगर प’ले मिति २०८२।११।२३ गते बिहान ४ः३२ मा ‘६४ वीरेन्द्रनगर क५३’ लाई ‘ Gud moring meri mayalu…‘।’ भन्ने Whatsapp Massage पठाएको देखिएको।
उक्त किशोर बिहान ५ः३७ः३० बजे एक्लै झोला बोकी मंगलगढी चोक तर्फ हिड्दै गरेको कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयमा रहेको CCTV फुटेजबाट देखिएको।

‘वीरेन्द्रनगर प’ ले ६ः०१ मा मृतक ६४ वीरेन्द्रनगर क५३ लाई ‘Okii Im waiting’  भन्ने Whatsapp Massage पठाएको देखिएको र ६ः१८ः४० बजे मृतक “६४ वीरेन्द्रनगर क५३“ र “वीरेन्द्रनगर प“ प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन विभागको गेट नजिकबाट हिंड्दै जाँदै गरेको प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन विभागमा रहेको CCTV फुटेजबाट देखिएको।
बिहान ६ः२६ बजे ‘वीरेन्द्रनगर प’ र मृतक ‘६४ वीरेन्द्रनगर क५३’ दुवै जना हिड्दै उत्तर (वीरेन्द्रनगर न.पा. वडा नं.४ स्थित जनजागरण सामुदायिक वन)तर्फ हिड्दै गरेको कर्णाली प्रदेश आयुर्वेद अस्पतालमा रहेको CCTV फुटेजबाट देखिएको।

८ः२१ः४४ बजे ‘वीरेन्द्रनगर प’ ले प्रयोग गर्ने ९८४८०…… नं. को मोवाइलबाट आफ्नो साथी नाम परिर्वतित ‘वीरेन्द्रनगर ध’ ले प्रयोग गर्ने ९७०३…..नं. को मोवाइल फोनमा ७६ सेकेण्ड कल गर्दा ‘वीरेन्द्रनगर प’को मोवाइल फोनको Location घटनास्थल एरियामा भएको देखिएको र ‘वीरेन्द्रनगर ध’को मोवाइल फोनको Location नजिकै घर नजिक एरियामा रहेको देखिएको र ‘वीरेन्द्रनगर ध’को घरमा रहेको CCTV Camera ०४ को Footage  मा ८ः३४ः२६ मा निजले मोवाइल फोनमा कुराकानी गर्दा कहाँ हो गाको तनि अल्टर ठाउँमा किन गाको त नि भन्ने सुनिएको।

‘वीरेन्द्रनगर ध’ ९ः०३ मा स्कुटर लिएर निस्केको निजको घरमा रहेको CCTV Camera ०३ बाट देखिएको। ९ः०७ मा कर्णाली प्रदेश आयुर्वेद अस्पतालको गेटबाट घटनास्थलतर्फ एक्लै जाँदै गरेको कर्णाली प्रदेश आयुर्वेद अस्पतालमा रहेको CCTV फुटेजबाट देखिएको।

बिहान ९ः१३ बजेको समयमा ‘वीरेन्द्रनगर प’ र ‘वीरेन्द्रनगर ध’ को फोन सम्पर्क भएको र निजको Location घटनास्थलको एरियामा टिप्ने टावरको लोकेसन देखिएको।

‘वीरेन्द्रनगर प’ को मोवाइलबाट ‘वीरेन्द्रनगर न’को प्रयोग गर्ने मोवाइइल ९८२……नम्वरमो ९ः०२ मा ७९ सेकेण्ड फोनमा कुराकानी भएको र ‘वीरेन्द्रनगर फ’ को घरबाट ‘वीरेन्द्रनगर फ’ र ‘वीरेन्द्रनगर न’ ९ः०७ः०० बजे सँगै निस्केको ‘वीरेन्द्रनगर फ’ को घरको सिसि टिभी फुटेजबाट देखिएको र ९ः०७ः४५ बजे ‘वीरेन्द्रनगर फ’ र ‘वीरेन्द्रनगर न’ दौड्दै उत्तरतर्फ गएको प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन विभागमा रहेको CCTV फुटेजबाट देखिएको।

‘वीरेन्द्रनगर न’ र ‘वीरेन्द्रनगर ध’ ९ः११ः०० बजे कर्णाली प्रदेश आयुर्वेद अस्पतालको गेटबाट घटनास्थलतर्फ जादै गरेको कर्णाली प्रदेश आयुर्वेद अस्पतालमा रहेको CCTV फुटेजबाट देखिएको।

के छ कानूनीय सजाय?

सामूहिक जबर्जस्ती करणी गरेपछि मुलुकी अपराध संहिता, २०७४ अनुसार कारबाही हुने कानूनीय व्यवस्था छ। मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा (१) विपरित उपदफा (२) र उपदफा (७) बमोजिमको कसूरमा सोही संहिताको दफा २१९(३) (घ) बमोजिम कैद र सोही संहिताको दफा २१९ (३क) को खण्ड (ख) बमोजिम जरिवानाको सजाय गरी सोही संहिताको दफा २१९ को उपदफा (७) बमोजिम थप सजाय हुने उल्लेख छ।

तर, सरकारी वकिल कार्यालयले मृतक ‘वीरेन्द्रनगर क५३’ अर्थात् इनिशालाई सामुहिक रुपमा जबरजस्ती करणी गरी ज्यान मारेको देखिएको उल्लेख गर्दै घटनामा संलग्न किशोरहरुलाई कर्तव्य ज्यानतर्फ सोही संहिताको दफा १७७ (१) बमोजिमको कसूरमा, संहिताको दफा १७७(२) बमोजिम सजाय हुने अभियोग पत्रमा समावेश गरेको छ।

उक्त संहिताको दफा ४१ (च) बमोजिमको कसूरमा सोही संहिताको दफा ४१ बमोजिम आजन्म कैद सजायको व्यवस्था भएको सरकारी वकिल कार्यालयले अभियोग पत्रमा उल्लेख गरेको छ।

साथै पक्राउ परेका किशोरहरु परिवर्तित नाम ‘वीरेन्द्रनगर प’, ‘वीरेन्द्रनगर ध’, ‘वीरेन्द्रनगर न’ र ‘वीरेन्द्रनगर फ’ वारदात मितिमा १६ वर्ष भन्दा बढी १८ वर्ष भन्दा कम उमेर समूहका नाबालक भएको देखिएकाले उनिहरुलाई बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ३६(४) बमोजिम साथै अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम क्षतिपुर्ति शुल्क रकम पीडित राहत कोषमा जम्मा गर्नुपर्ने मागदाबी गरिएको छ।

साथै मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (३क) को खण्ड (ख) बमोजिम जरिवानावाट प्राप्त हुने रकम तथा सोही संहिताको दफा २२८ र दफा १८६ बमोजिम चारै जना किशोरबाट मृतकका हकवालालाई क्षतिपूर्ति दिलाई भराई पाउन समेत मागदावी लिन सकिने अभियोग पत्रमा उल्लेख छ।

अभियोग पत्र दायर गर्नुका कारणहरु?

यस्तै, सरकारी वकिल कार्यालय सुर्खेतले अदालतमा अभियोग पत्र दायर गर्नुका कारणहरुसहितको कानूनी व्यवस्थाहरुमा बारेमा पनि औल्याएको छ।

जसमा मुलुकी अपराध संहिता, २०७४ को दफा १७७. ज्यान मार्ने नियतले कुनै काम गर्न नहुन, दफा २१९ जवर्जस्ती करणी गर्न नहुने, दफा ४१. जन्म कैद हुने, बालबालिका सम्बन्धी ऐन, २०७५ मा कानूनी व्यवस्था र दफा ३६. सजाय सम्बन्धी व्यवस्थाका विभिन्न आधारमा टेकेर अभियोग पत्र दायर गरेको सरकारी वकिल कार्यालयको जनाएको छ।

साथै उक्त अभियोग पत्रमा भौतिक सबुदका नमुनाहरु परिक्षणको लागि पठाईएका परिक्षण रिपोर्ट र वरामद सामानहरु प्राप्त भए पश्चात पठाइने, पक्राउ गरेका चारै जना किशोरहरुलाई चैत १३ गतेसम्म बालनिर्गानी कक्षमा राखी अनुसन्धान गर्न म्याद प्राप्त भएको १४ गते अभियोगपत्र पेश गर्नु पर्नेमा सो दिन शनिबारको बिदा परी कार्यालय बन्द रहेकाले आइतबार अभियोगपत्र अदालतमा प्रस्तुत गरिएको जनाएको छ।

प्रस्तुत वारदातमा अन्य कोही कसैको संलग्नता खुलि आएमा सो खुलेका बखत कानुन बमोजिम थप अभियोगदावी लिईने व्यहोरा पनि अभियोग पत्रमा समावेश छ।