२०८३ बैशाख ७, सोमबार

दैलेख। कर्णाली प्रदेश स्तरीय उद्यम, पर्यटन तथा औद्योगिक व्यापार मेला एवम् चौथो दैलेख महोत्सव २०८३ आजदेखि सुरु भएको छ। उद्घाटन कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीविनोदकुमार शाहले दैलेखको समृद्धिका लागि स्थानीय नागरिकको सक्रियता अपरिहार्य रहेको बताएका छन्।

‘दैलेखलाई कस्तो बनाउने भन्ने कुरा सरकार वा गैरसरकारी संस्थाले मात्र तय गर्ने होइन, दैलेखी आफैं जाग्नुपर्छ,’ मन्त्री शाहले भने, ‘प्रकृतिले दिएका अवसरलाई पैसामा रूपान्तरण गर्नुपर्छ, जिन्सीलाई नगदमा बदल्नुपर्छ।’

उनले दैलेखमा कृषि योग्य जमिनको सदुपयोग हुन नसकेकोप्रति चिन्ता व्यक्त गर्दै किसानहरू खेत बाँझै छाडेर पलायन भइरहेको अवस्था सुधार्नुपर्ने बताए। ‘हाम्रा जमिन किन सदुपयोग हुन सकेनन्, अब त्यसतर्फ गम्भीर रूपमा सोच्नुपर्ने बेला आएको छ,’ उनले भने।

निजी क्षेत्रको भूमिकाबारे उनले स्पष्ट धारणा राख्दै भने, ‘निजी क्षेत्रले उठाएका सबै मुद्दामा म सहमत छु, आवश्यक परे निजी क्षेत्रमैत्री हुनेगरी कानुन संशोधन गर्नुपर्छ।’ उनले विकास निर्माणमा निजी क्षेत्रलाई अगाडि ल्याउनुपर्ने उल्लेख गर्दै राज्यले नीति, नियम र प्रविधिगत सहयोग गर्ने तर प्रत्यक्ष व्यापारमा संलग्न नहुने बताए।

कृषि क्षेत्रको सुधारका लागि सरकारी कार्यक्रमहरू प्रभावकारी कार्यान्वयनमा समस्या रहेको स्वीकार्दै उनले भने, ‘हामीले मोडेल परिवर्तन गरेर कार्यक्रम ल्याएका छौं, तर कार्यान्वयनमा अझै चुनौती छन्।’

साथै, किसानलाई दिइने ५० प्रतिशत अनुदानको सीमा बढाउनुपर्ने आफ्नो व्यक्तिगत धारणा रहेको उनले व्यक्त गरे।

पर्यटन क्षेत्रको सम्भावनाबारे बोल्दै मन्त्री शाहले कर्णाली प्रदेशलाई प्राकृतिक सम्पदाले सम्पन्न क्षेत्रका रूपमा चित्रण गरे। ‘कर्णालीमा ठूला र मनमोहक तालतलैया, हिमाली फाँट, जडीबुटी, जंगल र नदी छन्,’ उनले भने, ‘तर यी स्रोतलाई विश्व बजारसँग जोड्न हामी पछि परेका छौं।’