सुर्खेत। रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि सुर्खेतको बराहताल गाउँपालिका–५, बडिचौरस्थित श्री एभरग्रीन इङ्लिस मिडियम बोर्डिङ स्कुलका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ हजार २ सय ६० रुपैयाँ सहयोग गरेका छन्।
बाढीपीडितको दुःखमा साथ दिने उद्देश्यले विद्यार्थीहरूले आफूले खाजा खानका लागि जम्मा गरेको रकमबाट सहयोग गरेका हुन्।
विद्यार्थीहरूले संकलन गरेको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरी त्यसको भुक्तानी रसिदसमेत सार्वजनिक गरेका छन्।
सानो उमेरका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचाएर विपद्मा परेका नागरिकका लागि सहयोग गर्नुले मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको सकारात्मक सन्देश दिएको छ।
भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवालगायतका क्षेत्रमा ठूलो क्षति पुगेपछि राहत तथा उद्धारका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेको छ।
एभरग्रीनका विद्यार्थीहरूको यो सहयोग पनि बाढीपीडितप्रतिको ऐक्यबद्धताको एउटा उदाहरण बनेको छ।

