सुर्खेत। मुगुका चार वटै स्थानीय तहमा भाइरल ज्वरो फैलिएको छ। भाइरल ज्वरोको कारण हालसम्म ५ जनाको ज्यान गएको छ। भाइरल ज्वरोका कारण छायांनाथ रारा नगरपालिका–१४ बाममा मात्रै मंसिर २० यता ५ जनाको मृत्यु भएको छ भने सयौं सर्वसाधारण बिरामी परेका छन्।
जिल्लामा असोज महिनायता वर्षा तथा हिमपात नहुँदा अत्यधिक चिसो र धुलोको असर बढेसँगै भाइरल इन्फ्लुएन्जाको संक्रमण तीव्र रूपमा फैलिएको छ। यसैक्रममा छायांनाथ रारा नगरपालिका–१४ बाममा भाइरल ज्वरोका कारण हालसम्म पाँच जनाको मृत्यु भएको वडाध्यक्ष जूनबहादुर खड्काले बताए। मृत्यु हुनेमा ५७ वर्षका जुद्ध रोकाया, ६० वर्षीया मुनसिला बढुवाल, ६२ वर्षका कृष्णबहादुर बुढा, एक तीन महिनाको शिशु तथा दुई वर्षको एक बालक रहेका छन्।
जिल्लाका चारवटै स्थानीय तहका विभिन्न समुदायमा केही दिनयता भाइरल इन्फ्लुएन्जा (रुघाखोकी–ज्वरो)को प्रकोप फैलिएर नागरिकको ज्यान जानथालेपछि नेकपा एमाले केन्द्रीय सदस्य सुशीलकुमार थापाले समयमै उपचारका लागि सम्बन्धित निकायसँग माग गरेका छन्।
उनले समाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नागरिकलाई उचित उपचारको व्यवस्था मिलाउन चाडो भन्दा चाडो सम्बन्धित सरोकारवाला निकाय कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र नेपाल सरकार स्वास्थ मन्त्रालयको ध्यानाकर्षण गराएका छन्।
‘सयौं नागरिकहरु बिरामी भएर उचित उपचारको व्यवस्था नभएर तड्पिएको अवस्था रहेको छ। नागरिकलाई उचित उपचारको व्यवस्था मिलाउन चाडो भन्दा चाडो सम्बन्धित सरोकारवाला निकाय कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र नेपाल सरकार स्वास्थ मन्त्रालयको उचित पहलकदमि रहोस र तत्काल रोग नियन्त्रण गर्न गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।’ नेपा थापाले फेसबुकमा लेखेका छन्।
