२०८२ पुष ६, आईतवार

सुर्खेत । सुशासन, भ्रष्टाचार नियन्त्रण, निर्वाचन प्रक्रिया तथा जेनजी र युवाको राजनीतिक सहभागिता विषयमा अन्तर–पुस्ता संवाद भएको छ। आइतबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा गैरसरकारी संस्था महासंघ नेपाल, कर्णाली प्रदेशको आयोजनामा संवाद भएको हो।

संवादमा गैसस महासंघका केन्द्रीय कोषाध्यक्ष गोविन्दबहादुर शाहीले संवादमा सहभागी विभिन्न राजनीतिक दलहरु तथा युवाहरुलाई देशको वर्तमान अवस्थाका बारेमा विभिन्न प्रश्नहरु सोधेका थिए।

जेनजी युवा सुनिता बादीले सुशासनका लागि जवाफदेहिता, पारदर्शिता, समावेशी जनसहभागिता महत्वपूर्ण कुरा भएको बताइन्। उनले हरेक क्रियाकलाप र संरचनामा यो विषयमा ख्याल गर्नुपर्ने सुझाव दिइन्। उनले भनिन्, व्यक्ति स्वयम् जवाफदेही हुनुपर्छ। भ्रष्टाचारदेखि दिक्क भएर जेनजीहरु आन्दोलनमा उत्रिएको हो। सरोकारवालाले जेनजी युवाको आवाज सुन्नपर्छ।’

राष्ट्रिय स्वतन्त्र पार्टी कर्णाली प्रदेशका प्रतिनिधि हरिप्रसाद अधिकारीले ५२ प्रतिशत निरक्षरको दर कर्णाली प्रदेशमा रहेको बताउँदै यहाँ सुशासनको बारेमा बुझाउन समय लाग्ने बताए।
उनले भने, ‘भ्रष्टाचार एक अर्कालाई आरोप मात्रै लगाएको देखिन्छ। मिडिया तथा नागरिकहरु समाजले भ्रष्टाचार नियन्त्रणका लागि आवज उठाएका छन्। सबै जेनजीहरुलाई समाजसेवामा लगाउनुपर्छ, संसद पुर्नस्थापनामको काम छैन्। चुनाव हुनुुपर्छ।’

नेकपा एमाले, सुर्खेत उपाध्यक्ष मोहन बडुवालले समाजमा जबरजस्त रोग जस्तै भ्रष्टाचार र कुशासन हाबी भएको बताए। उनले सुशासन, पारदर्शिता र जवादेहिता कायम भएमा भ्रष्टाचार आफैंमा कमजोर हुने दाबी गरे।

उनले भने, ‘लोकतान्त्रिक गणतन्त्र सहजै आएको होइन। अग्रजहरु लडेर ल्याएका हुन्। एउटा युगको समाप्ती भएर अर्को युगमा लोकतान्त्रिक गणतन्त्र व्यवस्थामार्फत प्रवेश गरेका थियौं। तर, हामीले अपेक्षा गरेअनुसार नतिजा आएन्। नागरिकको अवस्था परिवर्तन गर्न सकेनौं। यसमा राजनीतिक दलका पनि कमीकमजोरी पनि छन्, यसमा सच्चिनुपर्छ।’

उनले नेकपा एमालेले प्रतिनिधि सभा पुनस्र्थापनाको माग अघि सारेपनि सरकारले निर्वाचन गराएको खण्डमा निर्वाचनबाट नभाग्ने दाबी गरे।

संवादमा बोल्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की केन्द्रीय सदस्य हरिमाया शर्माले देशको हाल अवस्था हेर्दा भ्रष्टाचार, सुशासन जस्ता चुनौतीसँगै देशमा यसको विकराल अवस्था भएको बताइन्। उनले भनिन्, ‘देशमा भइरहेको भ्रष्टाचारको परिणाम नै जेनजी आन्दोलन हो। हाम्रो पार्टी यो कुरा निर्मुल गर्नुपर्छ भनेरै लागेको छ।’

उनले चुनाव संकटग्रस्त अवस्थामा घोषणा भएको बताउँदै अब सबै राजनीतिक दलहरु चुनावमा जानुको विकल्प नभएको बताइन्। उनले भनिन्, ‘सरकारको कार्यदिशा पनि चुनाव गराउनु हो। जनताको भावना चुनावले नै समेट्ने हुँदा चुनावमा जानु सबै दलको दायित्व हो।’

यस्तै, प्रमुख, जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनारले भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्न दल र कर्मचारीतन्त्रले आ–आफ्नो क्षेत्रबाट अन्त्य हुनुपर्ने बताए। जसका लागि सबै अनुशासनमा बस्नुपर्ने सुझाव राखे। उनले भने, ‘जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार अहिले पनि बाहिरै भएकाले चुनावमा केही समस्या हुन्छ कि भन्ने शंका छ। नत्र चुनाव तोकिएकै समयमा हुनुपर्छ।’

यस्तै, कर्णाली प्रदेश सभा सदस्य तथा नेपाली काँग्रेसका प्रमुख सचेतक हिक्मत विष्टले जहाँ सुशासन हुन्छ, त्यहाँ भ्रष्टाचार न्युन भएको बताए। उनले भने, ‘भ्रष्टाचार कुनै पनि देशमा निवारण गर्न सकिँदैन। बनेका कानुनको सही कार्यान्वयनमार्फत भ्रष्टाचार कम हुँदै सुशासन प्रवद्र्धन हुँदै जान्छ। संयन्त्र पुराना, उही संविधान, कानुन पुरानै र काम गर्ने मानिसहरु पुरानै हुँदा भ्रष्टाचार कम गर्न सकिँदैन। यो ठूलो चुनौती हो।’

उनले थपे, ‘अहिलेको निर्वाचन समयमै गराउन शान्ति सुरक्षा प्रमुख चुनौती हुन्छ। यसले समयमै निर्वाचन सम्पन्न हुनेमा शंका हुनु स्वभाविकै हो। अहिलेको सरकारले यसमा ध्यान दिनुपर्छ। दलहरुबीच छलफल गरेर सरकारले वातावरण बनाउन पनि सक्नुपर्छ। दलहरुलाई निर्वाचन भयरहित, स्वतन्त्र हुन्छ भनेर सरकारले विश्वास दिलाउनुपर्छ।’

यस्तै, संवादमा सहभागी राजनीतिक दल, नागरिक समाज र गैर सरकार िसंघ संस्थाका प्रतिनिधिहरु संविधान पदत्त अधिकार, समानता, समावेशीता र दिगो विकासको मूल्यमान्यतामा आधारित भई सुशासन, भ्रष्टाचारमुक्त प्रशासन, स्वतन्त्र र निष्पक्ष निर्वाचन, युवा, महिला, यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अर्थपूर्ण सहभागिता र जलवायु न्याय सुनिश्चित गर्न २० बुँदे नागरिक घोषणा–पत्र जारी गरिएको छ।