२०८३ आश्विन १०, शनिबार

काेसी।  निरन्तरको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढ्दै गएको छ।

बिहीबारदेखिको निरन्तर भइरहेको बर्षाको कारण सप्तकोसी नदीमा जलस्तर शनिबार बिहान एक्कासी बढेको हो।
​
भर्खरैको मापनअनुसार, कोसी ब्यारेजमा पानीको बहाव ३ लाख १६ हजार ७९५ क्युसेक पुगेको छ। पानीको बहाव तीव्र गतिमा बढ्ने क्रम जारी रहेपछि सतर्कता अपनाइएको व्यारेज प्रशासनले जनाएको छ।

पानीको सहज निकासका लागि कोशी ब्यारेजका ५६ मध्ये ४३ वटा ढोकाहरू खोलिएका छन्।

​जलस्तरले सुरक्षित सीमा पार गरेपछि ब्यारेजको अवस्थालाई ‘अति खतरा’ को सूचीमा राखिएको छ। यसअघि नै ब्यारेजमा खतराको संकेतस्वरूप रातो बत्ती बाल्नुका साथै रातो झन्डा फहराइएको छ।
​
शुक्रबार बिहान १ लाख ९० हजार क्युसेकको हाराहारीमा रहेको बहाव साँझसम्म बढेर २ लाख ७८ हजार २७५ क्युसेक पुगेको थियो।

​सप्तकोसीको जलस्तर थप माथि उठ्न सक्ने अनुमान गरिएको छ।

जल तथा मौसम विज्ञान विभाग र स्थानीय प्रशासनले कोसी नदी आसपासका होचा तथा तटीय भूभागमा बसोबास गर्ने बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानतर्फ स्थानान्तरण हुन अनुरोध गरेको छ।

शुक्रबार साँझ कोसी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्की, प्रमुख सचिव नारायण भट्ट, सुरक्षा निकायका प्रमुखसहितले कोसी ब्यारेज क्षेत्र निरीक्षण गरेका थिए।

मुख्यमन्त्री कार्कीले वर्षाबाट हुने सम्भावित क्षति रोक्नका लागि सरोकारवाला निकायलाई निर्देशन दिएका छन्।