२०८३ आश्विन १९, सोमबार

सुर्खेत। नेपाली म्याराथनका चर्चित धावक हरिबहादुर रोकायालाई सम्मान गरिएको छ। नेपाली खेलकुदमा पुर्‍याएको योगदानको कदर गर्दै कर्णाली याक्सले उनलाई दुई लाख ५० हजार रुपैयाँसहित सम्मान गरेको हो।

सोमबार (असोज १९) कर्णाली याक्सले सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा रोकायालाई सम्मानसँगै ‘हिरोज’ ब्रान्ड एम्बेस्डर समेत घोषणा गरेको छ।

सम्मानपछि रोकायाले आफू निकै खुसी भएको बताए । खेलकुदमा सफलता प्राप्त गर्न संघर्ष नछाड्न खेलाडीलाई उनले आग्रह गरे।

‘म धेरै खुसी छु । संघर्ष छोड्नु हुँदैन,’ उनले भने, ‘देशलाई पहिलो स्थानमा राख्नुपर्छ । देश रहे हामी रहन्छौँ।’

उनले देशलाई विश्वमा चिनाउने उद्देश्यले आफूले खेलकुदको यात्रा अघि बढाएको बताए।

जुम्लाका रोकायाले ३८ वर्षको उमेरमा सन् २००० मा आफूले एभरेस्ट म्याराथनमा बनाएको विश्व कीर्तिमान अहिलेसम्म कसैले तोड्न नसकेको दाबी गरे।

लामो समयदेखि नेपाली म्याराथनमा योगदान दिँदै आएका रोकाया कर्णालीको खेलकुद क्षेत्रका प्रेरणादायी खेलाडीका रूपमा चिनिन्छन्।