२०८३ आश्विन १८, आईतवार

सुर्खेत। कर्णाली प्रदेश सरकारले विश्व पशुपन्छी दिवस–२०८३ दिवस मनाएको छ। दिवसको अवसरमा सुर्खेतमा ‘पशु कल्याणका लागि पशु स्वास्थ्य तथा आहारा प्रवर्द्धन कार्यक्रम’ आयोजना गरेर दिवस मनाइएको हो।

कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा कार्यक्रम वीरेन्द्रनगर नगरपालिका–१० र ११ स्थित सुन्दर कर्णाली गौशालामा कार्यक्रम गरिएको छ।

‘संसारलाई पशुपन्छीका आँखाबाट हेरौँ’ भन्ने नाराका साथ विश्व पशुपन्छी दिवस–०८३ पशु कल्याणका लागि पशु स्वास्थ्य तथा आहारा प्रवर्द्धन कार्यक्रम गरेर मनाइएको मन्त्रालयका पशुपन्छी विकास महाशाखाका कमलबहादुर विश्वकर्माले जनाकारी दिए।

उनकाअनुसार कार्यक्रममार्फत पशु कल्याण, पशु स्वास्थ्य तथा उचित आहारको महत्वबारे जनचेतना अभिवृद्धि हुने अपेक्षा गरिएको छ।

कार्यक्रममा पशु अस्पताल तथा पशु सेवा कार्यालय सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत तथा वीरेन्द्रनगर नगरपालिकाको पशुपन्छी विकास शाखाले समन्वय तथा सहकार्य रहेको थियो।

विश्वभर हरेक वर्ष अक्टोबर ४ मा विश्व पशुपन्छी दिवस मनाइँदै आएको छ। यस अवसरमा पशुको स्वास्थ्य, कल्याण र संरक्षणका विषयमा विभिन्न कार्यक्रम सञ्चालन गरेर दिवस मनाउने गरिन्छ।