२०८३ आश्विन २४, शनिबार

सुर्खेत। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि कर्णाली याक्सले बंगलादेशका युवा खेलाडी अरिफुल इस्लामलाई अनुबन्ध गरेको छ।

उमेर समूहको क्रिकेटबाट आफ्नो पहिचान बनाएका अरिफुलले बंगलादेशको यू–१९ क्रिकेट टिमबाट विश्व कप खेलिसकेका छन्। यू–१९ राष्ट्रिय टिम, हाइ पर्फमेन्स टि‌म र ‘ए’ टिमबाट खेलेको उनको अनुभव छ।

उमेर समूह हुँदै अन्तर्राष्ट्रिय फ्रेन्चाइजमा पनि उनको प्रदर्शन उत्कृष्ट रहेको छ। अस्ट्रेलियामा भएको टप इन्ड टी–२० सिरिजमा उनले प्रभावशाली प्रदर्शन गरेका थिए।

उनले सात खेलमा २१९ रन जोडे। उनको ब्याटिङ औसत ३६.५० र स्ट्राइक रेट १३८.६० थियो। प्रतियोगितामा दुई अर्धशतक बनाएका उनी सर्वाधिक रन बनाउने ब्याटरको सूचीको तेस्रो स्थानमा रहे।

कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्लले अरिफुल इस्लामको आगमनले टोलीको ब्याटिङलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्। उनले अरिफुल प्रतिभाशाली र आक्रामक ब्याटिङ क्षमता भएका युवा खेलाडी रहेको बताए।

यसअघि कर्णालीले मार्क वाट र अकबर अलिलाई अनुबन्धित गरिसकेको छ। अरिफुल यो सिजनको लागि जोडिएका तेस्रो विदेशी खेलाडी हुन्।