२०८३ असार ९, मंगलवार

वीरेन्द्रनग। सहकारी संस्थाका सदस्य, सञ्चालक तथा कर्मचारीहरूका लागि सहकारीमार्फत व्यवसाय प्रवर्द्धन तथा व्यावसायिक योजना सम्बन्धी सात दिने तालिम सोमबारदेखि सुर्खेतमा सुरु भएको छ।

भूमि व्यवस्था तथा सहकारी रजिस्ट्रारको कार्यालय, सुर्खेतको आयोजनामा सञ्चालन भएको तालिम असार १५ गतेसम्म चल्नेछ।

तालिममा दैलेख, सुर्खेत, सल्यान र रुकुमपश्चिम लगायतका जिल्लामा सञ्चालित कृषि तथा सहकारी संस्थाका एक सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको कार्यालयका वरिष्ठ शाखा अधिकृत भीमबहादुर कार्कीले जानकारी दिए।

तालिम उद्घाटन कार्यक्रममा बोल्दै कर्णाली सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले तालिममा महिला सहभागिता उल्लेखनीय रहेको बताए।

महिला उद्यमीहरूको लगनशीलता र जिम्मेवार कार्यशैलीप्रति आफू विश्वस्त रहेको उल्लेख गर्दै उनले भौगोलिक विकटताका कारण सबै क्षेत्रबाट अपेक्षित सहभागिता जुटाउन चुनौती रहेको बताए।

मन्त्री शाहले पछिल्लो समय सहकारी क्षेत्र विभिन्न कारणले चर्चामा रहे पनि धेरै सहकारी संस्थाहरू उदाहरणीय रूपमा सञ्चालन भइरहेको बताए।

समाजमा रहेको पुँजीलाई एकीकृत गरी उत्पादन, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिसँग जोड्न सहकारीको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ थियो।

उनले उत्पादनको मात्रा मात्रै नभई त्यसको मूल्य अभिवृद्धि (भ्यालु एडिसन) मा समेत ध्यान दिन सहभागीहरूलाई आग्रह गरे।

तालिमले व्यवसाय व्यवस्थापन, उत्पादनको मूल्य अभिवृद्धि तथा बजार व्यवस्थापनसम्बन्धी थप ज्ञान प्रदान गर्ने विश्वास व्यक्त गर्दै कृषिको उत्पादन वृद्धि र आर्थिक समृद्धिमा सहकारीको भूमिका अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

मन्त्री शाहले सहकारी क्षेत्रको प्रवर्द्धनका लागि सरकारले ब्याज अनुदानलगायतका कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै उपलब्ध सुविधाको अधिकतम उपयोग गरी सहकारी संस्थालाई थप सुदृढ बनाउन आग्रह गरे।

तालिम अवधिभर दोहोरो छलफल, अनुभव आदानप्रदान तथा सिकाइका माध्यमबाट संस्थागत क्षमता अभिवृद्धि गर्न पनि उनले सुझाव दिए।

कार्यक्रममा भूमि व्यवस्था तथा सहकारी रजिस्ट्रार कार्यालय प्रमुख खिमानन्द अर्यालले यो तालिम वार्षिक कार्यक्रम अन्तर्गत नियमित रूपमा सञ्चालन हुँदै आएको बताए।

उनले यस तालिमबाट व्यावसायिक योजना निर्माण, कर्जा व्यवस्थापन तथा सहकारी सञ्चालनका व्यवहारिक पक्षबारे सहभागीले लाभ लिने बताए।

सहकारी संस्थामा कर्जा प्रवाह तथा वित्तीय व्यवस्थापनलाई व्यवस्थित बनाउन व्यावसायिक योजना अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै अर्यालले तालिमले सहभागीलाई दक्ष प्रशिक्षकका रूपमा समेत विकास गर्ने विश्वास व्यक्त गरे।

तालिमबाट सहकारी संस्थाको संस्थागत क्षमता, व्यवसायिकता तथा सेवा प्रवाहमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।