सल्यान। सल्यानका दूग्ध व्यवसायीहरूको क्षमता अभिवृद्धि तालिम प्रदान गरिएकाे छ। असार २४ गतेदेखि २६ गतेसम्म “दुग्ध उत्पादन, बजारीकरण तथा दूग्धजन्य परिकारहरूको विविधीकरण” सम्बन्धी ३ दिने तालिम प्रदान गरिएकाे हाे।
पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानकाे आयोजनामा जिल्लाका विभिन्न पालिकाबाट सहभागी भएका दुग्ध व्यवसायीहरूलाई स्वच्छ तथा गुणस्तरीय दूध उत्पादन, पशुपालन व्यवस्थापन, दूध संकलन र भण्डारण, दूधको गुणस्तर कायम गर्ने विधि, बजार व्यवस्थापन, मूल्य अभिवृद्धि तथा दुग्धजन्य परिकारहरूको विविधीकरण सम्बन्धी व्यावहारिक तथा सैद्धान्तिक प्रशिक्षण प्रदान गरिएको हाे।
तालिमको क्रममा दूधबाट दही, पनिर, घ्यू लगायत अन्य मूल्य अभिवृद्धि भएका दुग्धजन्य परिकारहरूको उत्पादन, प्रशोधन तथा बजारीकरणका विषयमा समेत विस्तृत जानकारी प्रदान गरिएकाे कार्यालय प्रमुख डाक्टर अनुप श्रेष्ठले जानकारी दिए।
उनका अनुसार स्थानीय स्तरमा उपलब्ध स्रोत–साधनको प्रभावकारी उपयोग गरी स्वरोजगार तथा आयआर्जन वृद्धि गर्न सकिने उपायहरूबारे सहभागीहरूलाई जानकारी लिएका छन्।
तालिमबाट सहभागी व्यवसायीहरूले आधुनिक तथा व्यावसायिक दुग्ध उत्पादन प्रविधि अपनाई उत्पादन लागत घटाउने, दूधको गुणस्तर सुधार गर्ने, बजारको मागअनुसार विविध दुग्धजन्य उत्पादन तयार गरी आम्दानी वृद्धि गर्न आवश्यक ज्ञान तथा सीप हासिल गरेको विश्वास गरिएको छ।
यस्तै कार्यालयले आगामी दिनमा पनि जिल्लामा दूग्ध क्षेत्रको व्यवसायीकरण, उत्पादन वृद्धि, मूल्य अभिवृद्धि तथा बजारीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले यस्ता क्षमता विकासका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएकाे छ।





