सुर्खेत। दैलेखले कर्णाली प्रदेशस्तरीय यू–१९ पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। फाइनलमा कालीकोटलाई चार विकेटले पराजित गर्दै दैलेख च्याम्पियन बनेको हो।
फाइनलमा पहिले ब्याटिङ गरेको कालीकोटले १८ ओभर ४ बलमा ५८ रनमा अलआउट भयो।
दैलेखका निराजन कठायतले ४ ओभरमा ७ रन खर्चेर ३ विकेट लिए। कप्तान विजय बोहरा र अनुराग शाहीले २–२ विकेट लिए भने चेलेन्ज भण्डारी र मौसम थापाले १–१ विकेट हात पारे।
५९ रनको सामान्य लक्ष्य पछ्याएको दैलेखले १६ ओभर २ बलमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। दैलेख कप्तान विजय बोहराले ३५ बलमा ४ चौकासहित २६ रन बनाए भने भीम शाहीले १३ रनको योगदान दिए।
प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेको दैलेखले फाइनलमा पनि बलिङ र ब्याटिङमा प्रभावशाली खेल देखाउँदै उपाधि उचालेको हो। जितसँगै दैलेखका खेलाडी तथा समर्थकमा खुसी छाएको छ।






