जाजरकोट। नेपाल सरकारले घोषणा गरेको एक सय प्रमुख पर्यटकीय गन्तव्यभित्र परेको ऐतिहासिक जाजरकोट दरबार अझै पुनर्निर्माणको पर्खाइमै रहेको छ। २०८० कात्तिक १७ गते गएको जाजरकोट भूकम्प यता २९ महिना बितिसक्दा पनि करिब २५० वर्ष पुरानो दरबार पुनर्निर्माणमा बेवास्ता हुँदा थप जीर्ण बन्दै गएको हो।
भूकम्पले दरबारका सेतो र रातो दुवै संरचना क्षतिग्रस्त बनाएको थियो। तर, सरोकारवाला निकायले समयमै पुनर्निर्माण प्रक्रिया अघि नबढाउँदा बर्खाको पानीले थप क्षति पु¥याइरहेको स्थानीयको गुनासो छ। विशेषगरी पश्चिम र दक्षिणतर्फका भागहरू भत्किँदै गएको बताइएको छ।
इतिहासअनुसार सेतो दरबार जाजरकोटी राजा इन्द्रनारायण शाह का पालामा विसं १८५२ मा निर्माण गरिएको हो भने पश्चिमतर्फको रातो दरबार विसं १८००–१८११ बीच निर्माण भएको पाइन्छ। यही दरबारबाट जाजरकोट राज्यको शासन सञ्चालन हुने गरेको बुढापाकाहरू बताउँछन्।
नागरिक समाजका अगुवा राजेन्द्रविक्रम शाह ले जनताको श्रमदानबाट बनेका ऐतिहासिक दरबार पुनर्निर्माणमा सरकार गम्भीर नहुनु चिन्ताजनक भएको बताए। “समयमै पुनर्निर्माण नभए आगामी बर्खासम्म दरबार पूर्णरूपमा भत्किन सक्छ,” उनले चेतावनी दिए।
यस्तै, जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठान को पहलमा दरबार क्षेत्रलाई कर्णालीकै प्रमुख ऐतिहासिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने तथा सङ्ग्रहालय बनाउने योजना समेत अलपत्र परेको छ। प्रतिष्ठानका अध्यक्ष जनक केसी का अनुसार दरबारको मौलिक स्वरूपबारे स्पष्ट अभिलेख नहुँदा पुनर्निर्माण झन् जटिल बनेको छ।
“विसं १९९० पछि भक्तपुरका नेवार इन्जिनियरमार्फत पुरानै शैलीमा पुनर्निर्माण गरिएको सुनिन्छ। तर अहिले संरक्षण अभावमा मौलिकता हराउँदै गएको छ,” केसीले बताए।
यसअघि पनि १९९० सालको महाभूकम्प र २०५० सालको भूकम्पले दरबारमा क्षति पु¥याएको थियो। ती घटनापछि क्रमशः पुनर्निर्माण गरिए पनि हालको अवस्थाले दरबारको अस्तित्व नै संकटमा परेको छ।
पाँचतले संरचना भूकम्पपछि तीनतले बनाइएको दरबारमा भूकम्पअघि रातो दरबारमा जिल्ला समन्वय समिति र सेतो दरबारमा जिल्ला प्रशासन कार्यालय सञ्चालनमा थिए।
नागरिक समाजका अनुसार जाजरकोटी राजा प्रकाशविक्रम शाह ले २०२४ सालमा दरबार नेपाल सरकारलाई बिक्री गरेपछि यो सरकारी सम्पत्तिका रूपमा परिणत भएको थियो।
स्थानीयवासी तथा सरोकारवालाले समयमै पुनर्निर्माण प्रक्रिया अघि नबढाइए ऐतिहासिक धरोहर पूर्ण रूपमा गुम्ने खतरा रहेको भन्दै तत्काल पहल गर्न सरकारसँग माग गरेका छन्।





