२०८३ आश्विन २६, सोमबार

सुर्खेत। खाद्य स्वच्छता कायम गर्न उत्पादनदेखि उपभोक्तासम्म खाद्यवस्तुको गुणस्तरमा ध्यान दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। खाद्यवस्तुको गुणस्तर कायम राख्न व्यवसायीले पेसागत धर्म र जिम्मेवारी बुझेर स्वअनुशासित रूपमा व्यवसाय सञ्चालन गर्नुपर्ने उनीहरूको जोड छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले आयोजना गरेको खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धि सचेतना मुलक प्रचारप्रसार कार्यक्रममा खाद्यजन्य रोग, दूषित खानाबाट हुने स्वास्थ्य समस्या, खाद्य स्वच्छता र बजार अनुगमनका विषयमा चर्चा गरिएको थियो।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका कोषाध्यक्ष ईश्वरराज अधिकारीले सबै प्रकारका खाद्य व्यवसायको नियमित अनुगमन गर्नुपर्ने बताए। उनले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गरेका कामकारबाही सार्वजनिक गर्नुपर्नेमा जोड दिँदै अनुगमनलाई पारदर्शी र प्रभावकारी बनाउनुपर्ने धारणा राखे।

उनले खाद्यवस्तुको गुणस्तर र स्वच्छता कायम गर्न सरकारी निकाय, व्यवसायी तथा उपभोक्ता सबै जिम्मेवार हुनुपर्ने बताए।

कार्यक्रमका प्रमुख अथिति जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले चाडपर्वका समयमा बजारमा भीडभाड बढ्ने भएकाले कम गुणस्तरका खाद्यवस्तु उपभोक्तासम्म पुग्ने जोखिम रहने बताए।

उनले उत्पादन, बजारीकरण र उपभोगसम्म खाद्यवस्तुको गुणस्तर कायम हुनुपर्ने सुझाव दिए।

प्रजिअ सापकोटाले व्यवसायीले कानुनी कारबाहीको अवस्था आउन नदिने गरी स्वअनुशासित भएर व्यवसाय सञ्चालन गर्नुपर्ने बताए। ‘खाद्य स्वच्छताका लागि भान्सा र शौचालय सफा राख्नुपर्छ,’ उनले भने, ‘सम्बन्धित सुरक्षा निकाय, प्रशासन तथा अन्य सरोकारवाला निकायले समेत यस विषयमा ध्यान जरुरी छ।’

प्रजिअ सापकोटाले प्रकृतिले कर्णालीलाई पर्याप्त स्रोत दिएको उल्लेख गर्दै उपलब्ध स्रोतसाधनको सदुपयोग गरी गुणस्तरीय खाद्यवस्तु उत्पादन र उपभोगमा जोड दिनुपर्ने धारणा राखे।

यस्तै, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका कार्यालय प्रमुख श्रीराम न्यौपानेले सीमित स्रोतसाधन र कर्मचारी अभावका बाबजुद बजार अनुगमनको काम भइरहेको बताए।

साथै उनले कर्णालीमा हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी कर्णालीका साना होटलदेखि तारे होटलसम्म अनुगमन गरिने बताए। उनले भने, ‘चाडपर्व लक्षित अनुगमनका साथै मिठाइ पसल, पानीका जार तथा अन्य खाद्य उद्योगको समेत अनुगमन गरिरहेका छौ। बसपार्कलगायतका बढी भीडभाड हुने क्षेत्रमा सञ्चालित खाद्य व्यवसायलाई पनि अनुगमनको दायरामा ल्याइएको छ।’

साथै उनले साना चिया तथा नास्ता पसलसम्म नियमित रूपमा पुग्न नसकिएको उल्लेख गर्दै उनले त्यस्ता व्यवसायको अनुगमनमा स्थानीय सरकारले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताए।

बजेट घटेर आएकाले अनुगमनमा समस्या भएको बताउँदै प्रमुख न्यौपानेले राजमार्ग तथा अन्य क्षेत्रमा सञ्चालित होटलको मापदण्ड निर्धारण गरी गुणस्तरको अवस्था देखाउने स्टिकर टाँस्ने तयारी भइरहेको जानकारी दिए।

कार्यक्रममा खाद्य अनुसन्धान अधिकृत सन्तोष दाहालले खाद्य स्वच्छता, खाद्यजन्य रोग र दूषित खाद्यवस्तुबाट मानव स्वास्थ्यमा पर्न सक्ने असरबारे प्रस्तुतिकरण गरेका थिए। उनले खाद्यवस्तुमा हुन सक्ने जैविक तथा भौतिक जोखिम, कृषिजन्य उत्पादन दूषित हुने कारण र खाद्य गुणस्तर कायम गर्न आवश्यक सावधानीबारे जानकारी गराएका थिए।

जैविक जोखिमअन्तर्गत ब्याक्टेरिया, भाइरस तथा परजीवीबाट खाद्यवस्तु दूषित हुन सक्ने र भौतिक जोखिमअन्तर्गत फलामका टुक्रालगायतका बाह्य वस्तु खाद्यवस्तुमा मिसिन सक्ने विषय प्रस्तुतिकरणमा समेटिएको थियो।

त्यस्तै, ढुसीबाट उत्पादन हुने विषाक्त पदार्थ, एन्टिबायोटिकको जथाभावी प्रयोग र प्रतिजैविक प्रतिरोधका विषयमा पनि चर्चा प्रस्तुतिकरणमा गरिएको थियो।

दूषित खाना खाँदा खाद्यजन्य रोग लाग्न सक्ने भएकाले खाद्यवस्तुको उत्पादन, प्रशोधन, भण्डारण, प्याकेजिङ र बिक्री वितरणमा स्वच्छता कायम गर्नुपर्नेमा जोड दिइएको थियो। खाद्य स्वच्छतासम्बन्धी नीति, ऐन, नियम, निर्देशिका र मापदण्डको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको पनि कार्यक्रममा औँल्याइएको थियो।

यस्तै कार्यालयका अनुसार चालु आर्थिक वर्षको असोज २५ गतेसम्म विभिन्न बजार, होटल, उद्योग लगायत गरेर ४८५ वटा अनुगमन भएका छन्। भने त्यहाँबाट एक लाख ८६ हजार ४७७ रुपैँया बराबरको सामान जफत र नष्ट गरिएको छ।

साउन महिनामा ४४, भदौमा ४१ र असोजको २५ गतेसम्म ४०० वटा विभिन्न बजार, होटल, उद्योग र चालु आर्थिक वर्षको हालसम्म ९४ वटा तरकारी तथा फलफूलको अनुगमन गरिएको कार्यालयका खाद्य अनुसन्धान अधिकृत कपिल सुवेदीले जानकारी दिए।