सुर्खेत। कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतका वार्षिक नीति, कार्यक्रम तथा योजनाहरूलाई तोकिएको समयभित्रै प्रभावकारी रूपमा कार्यान्वयन गर्न सोमबार मन्त्रालयमा कार्यसम्पादन करार सम्झौता गरिएको छ।
साेमबार मन्त्रालयमा मन्त्री जुम्कित लामा (कार्की) र सचिव डा.चन्द्रप्रसाद रिसालबीच उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
प्रदेश सरकारको विकास बजेट खर्च प्रणालीलाई चुस्त बनाउँदै प्रशासनिक क्षेत्रलाई थप जिम्मेवार, उत्तरदायी र जवाफदेही बनाउने उद्देश्यले यो सम्झौता प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।
उक्त पत्रमा सम्झौतामार्फत मन्त्रालयअन्तर्गत सञ्चालित विभिन्न कार्यक्रम तथा आयोजनाहरूलाई निर्धारित लक्ष्यअनुसार उच्च प्राथमिकताका साथ समयमै सम्पन्न गर्ने प्रतिबद्धता छ। त्यसैगरी आम नागरिक तथा किसानहरूले पाउने सेवा प्रवाहलाई झन्झटरहित, पारदर्शी र व्यवस्थित बनाई सुशासनको प्रत्याभूति दिलाउने लक्ष्य राखिएको छ।
मन्त्रालयले कृषि क्षेत्रको आधुनिकीकरण र उत्पादन वृद्धिका योजनाहरूलाई कागजमा मात्र सीमित नराखी कार्यक्षेत्रमै प्रत्यक्ष परिणाम देखिने गरी प्रभावकारी बनाउने दृढता व्यक्त गरेको छ।
मन्त्री र सचिवबीचको यो सम्झौता लगत्तै जिम्मेवारी र उत्तरदायित्वलाई तल्लो तहसम्म लैजान मन्त्रालयका विभिन्न महाशाखा तथा शाखा प्रमुखहरूले पनि सचिव रिसालसँग छुट्टाछुट्टै कार्यसम्पादन करार सम्झौता गर्ने कार्यतालिका रहेको छ।





