२०८३ कार्तिक ११, मंगलवार

काठमाडौँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १३३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३२ रन बनायो।

कर्णालीका ओपनर अरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाए । उनले २९ बलमा ४ चौका प्रहार गरे। कर्णालीले सुरुवातबाटै विकेट गुमाउन पुग्यो।

पहिलो ओभरको अन्तिम बलमा कर्णालीका ओपनर मार्क वाट एक रन जोडेर पभेलियन फर्किए। ४ रनमा पहिलो विकेट गुमाएको कर्णालीले थप १४ रन जोड्दो दोस्रो विकेट गुमाउन पुग्यो ।

डेब्यु गरेको जनकपुरका आइकोनिक प्लेयर राहुल यादवले पहिलो बलमै विकेट लिँदै दीपक डुम्रेलाई १३ रनमा आउट गराए। कर्णालीले ३७ रन जोड्दा तेस्रो विकेट गुमायो। हुसेन तलत ३ रन जोडेर आउट भए। त्यसपछि पवन सर्राफ र अरिफुल इस्लामले कर्णालीको ब्याटिङ उकास्ने प्रयास गरे । उनीहरुले चौथो विकेटका लागि ४२ रनको साझेदारी गरे।

अरिफुल २९ बलमा ४३ र पवन ३७ बलमा ३७ रन बनाएर आउट भए। त्यसपछि अक्बर अली एक, कप्तान सोमपाल कामी एक र गुल्सन झाले १२ रन बनाए। नन्दन यादव ९ रनमा आउट हुँदा युवराज खत्री र युनिश ठकुरी अविजित रहे।

बलिङमा जनकपुरका कप्तान हर्मीत सिंहले ३ विकेट लिए। मोइन अली र राहुल यादवले दुईदुई र ललित राजवंशीले एक विकेट लिए।