काठमाडौँ। काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एउटा मात्र खेल हुँदैछ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार साँझ ५ बजेदेखि सुरु हुने खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्।
यसअघिका दुवै संस्करणमा सुदूरपश्चिमसँग पोखरा पराजित भएको थियो। यसपटक जित निकाल्दै पोखरा सुखद् नतिजा हात पार्ने दाउमा छ।
कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रिने पोखराले विगतमा प्लेअफसम्म पुग्न नसकेको इतिहास छ।
त्यसैगरी दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको सुदूरपश्चिम रोयल्स भने जारी प्रतियोगिताको पहिलो खेलमै व्यहोरेको हारलाई बिर्सेर पुनरागमन गर्ने योजनामा छ।
सुदूरपश्चिम यसअघि लगातार दुई संस्करणको फाइनल पुगेर पनि उपाधि जित्न नसकेको टोली हो।
यही ९ गतेदेखि सुरु भएको एनपीएलमा आठ टोली प्रतिस्पर्धा गरिरहेका छन्। प्रतियोगिताको फाइनल भिडन्त आगामी मङ्सिर ५ गते हुने तालिका छ।
मंगलबार भएको खेलमा कर्णाली याक्ससँग जनकपुर बोल्ट्स र चितवन राइनोजसँग विराटनगर पराजित भएको थियो।





