सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश समितिले पार्टी सदस्यता नवीकरणलाई तीव्रता दिन ‘एक महिने सदस्यता नवीकरण विशेष अभियान’ सञ्चालन गर्ने गरेको छ।
कर्णाली प्रदेश समितिको बैठकले आगामी असोज महिनासम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। प्रदेश संयोजक विमला केसीका अनुसार अभियानअन्तर्गत प्रत्येक केन्द्रीय सदस्यको नेतृत्वमा सम्बन्धित स्थानीय तह र प्रदेश समितिका सदस्य तथा स्थानीय तहका पदाधिकारी सम्मिलित संयुक्त टोली गठन गरिनेछ।
ती टोलीले सदस्यता नवीकरणको कामलाई व्यापक र प्रभावकारी बनाउन भूमिका निर्वाह गर्नेछन्। अभियान अवधिमा सम्पूर्ण टोली सदस्यले अनिवार्य रूपमा २५ दिन पार्टीको काममा खटिनु पर्ने निर्णय समेत गरिएको केसीले जानकारी दिइन्।
टोलटोलमा पुगेर सदस्यता नवीकरणको महत्त्व, पार्टीको राजनीतिक तथा वैचारिक कार्यदिशा, देशको समसामयिक अवस्था र पार्टी सदस्यको जिम्मेवारीबारे भेला तथा प्रशिक्षण सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ।
त्यस्तै, महाधिवेशनपछि पार्टी कस्तो बनाउने भन्ने विषयमा जनस्तरसम्म छलफल गर्ने र पार्टीभित्रको अनुगमन तथा मूल्यांकन प्रणाली कस्तो हुनुपर्छ भन्नेबारे लिखित सुझाव संकलन गरी प्रदेश समितिमा बुझाउने निर्णय गरिएको छ।
‘हाम्रो पार्टीको सदस्यता नवीकरणको काम देशैभरि अगाडि बढिरहेको सन्दर्भमा कर्णाली प्रदेशमा अझै प्रभावकारी ढंगले अगाडि बढाउन सदस्यता नवीकरणलाई विशेष अभियानका रूपमा सञ्चालन गर्ने निर्णय गरिएको हो’, केसीले भनिन्।
संयोजक केसीका अनुसार देशभर सदस्यता नवीकरणको प्रक्रिया अघि बढिरहेका बेला कर्णालीमा त्यसलाई थप विस्तार बनाउन विशेष अभियान सञ्चालन गर्न लागिएको हो।
अभियानले सदस्यता नवीकरणसँगै कुन क्षेत्रमा संगठन सक्रिय छ, कहाँ संगठन कमजोर छ र सदस्यहरूको अवस्था कस्तो छ भन्ने विषयमा प्रदेश नेतृत्वलाई प्रत्यक्ष जानकारी दिने अपेक्षा गरिएको छ।
यसबाट स्थानीय तहमा पार्टीको उपस्थिति, संगठनको सक्रियता र सदस्यहरूको भूमिकाबारे प्रदेश नेतृत्वले प्रत्यक्ष जानकारी प्राप्त गर्ने अपेक्षा गरिएको छ।





