सुर्खेत। एनएमबि लघुवित्त वित्तीय संस्था लिमिडेट कर्णाली प्रदेशले वृक्षरोपण गरिएको छ। प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतको प्रमुख पर्यटकीय स्थलहरुमा शनिबार वृक्षारोपण गरिएको हो।
संविधान दिवसको अवसर पारेर वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा स्वच्छ समाज निर्माणमा योगदान पुर्याउने उद्देश्यले वृक्षारोपण गरिएको संस्थाले जनाएको छ।
संस्थाका कर्मचारी तथा रुकुमपश्चिम खोलागाउ शाखा प्रमुख दानबहादुर खत्रीले वीरेन्द्रनगरस्थित पर्यटकीय स्थल बुलबुले पार्क परिसर तथा अन्य पर्यटकीय क्षेत्रहरूमा विभिन्न प्रजातिका बिरुवा रोपिएको जानकारी दिए।
यस्तै, वृक्षारोपण कार्यक्रममा संस्थाका कर्णाली प्रदेश प्रमुख विवेक भट्ट, प्रदेश कार्यालयका कर्मचारी, विभिन्न शाखाका शाखा प्रमुख तथा कर्मचारी, संस्थाका सदस्य, स्थानीय जनप्रतिनिधि र अन्य सरोकारवालाको उल्लेखनीय सहभागिता थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेश प्रमुख भट्टले संविधान दिवस केवल अधिकारको उत्सव मात्र नभई नागरिकको कर्तव्य स्मरण गर्ने महत्वपूर्ण दिन भएको बताए।
उनले वातावरण संरक्षणलाई सबै नागरिकको साझा जिम्मेवारीका रूपमा ग्रहण गर्दै वृक्षरोपणलाई निरन्तर सामाजिक अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।
‘रुख रोप्नु भनेको केवल बिरुवा रोप्नु मात्रै होइन, भविष्यका पुस्ताका लागि स्वच्छ हावा, हरियाली वातावरण र सुरक्षित पृथ्वीको आधार तयार गर्नु हो,’ उनले भने, ‘आज रोपिएको एउटा बिरुवाले भोलिको जीवनलाई हराभरा बनाउने विश्वास हाम्रो छ।’
कार्यक्रममा सहभागी स्थानीय जनप्रतिनिधिहरूले सार्वजनिक स्थलमा गरिएको वृक्षरोपणले हरित वातावरण निर्माणमा सकारात्मक सन्देश दिएको उल्लेख गर्दै यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका थिए।
कार्यक्रमको समापनमा रोपिएका बिरुवाको संरक्षण र नियमित हेरचाह गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गर्दै सहभागीहरूले एक–आपसमा संविधान दिवसको शुभकामना आदानप्रदान गरिएको थियो।





