काठमाडौं। चुनावअघिको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्से ३८.५२ अंकले बढेर २७१२.४९ विन्दुमा पुगेको छ।
सरकारले फागुन २१ गते संसदीय चुनाव गर्ने घोषणा गरेपछि २७८८ अंकसम्म पुगेको नेप्से त्यसपछि केही घटेर पुनः उकालो लागेको हो। निर्वाचनअघिका पछिल्ला ६ कारोबार दिन लगातार बजार बढेको देखिएको छ।
गत फागुन ११ गते २.४१ अंकले बढेको नेप्से फागुन १२ गते २१.६२ अंक, फागुन १३ गते १०.३० अंक, फागुन १४ गते ६.०३ अंक र फागुन १७ गते १९.०४ अंकले उकालो लागेको थियो। सोही क्रमलाई निरन्तरता दिँदै आज छैटौँ दिन ३८ अंकभन्दा बढीको वृद्धि गर्दै नेप्से २७ सय विन्दुमाथि कायम भएको हो।
चुनावलाई लक्षित गर्दै भोलिबाट तीन दिन सार्वजनिक बिदा दिइएकाले चुनावअघिको अन्तिम कारोबार दिन लगानीकर्ताको सक्रियता उल्लेख्य देखिएको छ। आज कुल ६ अर्ब २३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
आज कारोबारमा आएका ३२९ कम्पनीमध्ये २५४ वटाको सेयर मूल्य बढेको छ। सालपा विकास बैंक, पञ्चकन्या माई हाइड्रोपावर र रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य करिब ९ प्रतिशतले बढेको छ भने अन्य कम्पनीहरूको मूल्य सामान्य वृद्धि भएको छ।
यता, ६ वटा कम्पनीको सेयर मूल्य घटेको छ। शुभम् पावर २.५३ प्रतिशतले घटेर सबैभन्दा धेरै गुमाउने सूचीमा परेको छ। यसबाहेक ५ वटा म्युचुअल फन्डको मूल्यमा पनि गिरावट देखिएको छ।
आज सबैभन्दा बढी कारोबार आखुँखोला जलविद्युत् कम्पनीको भएको छ। उक्त कम्पनीको ३४ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।





