२०८३ आश्विन ७, बुधबार

काठमाडाैँ। प्रधानमन्त्री बालेन्द्र शाहले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत स्ट्याटस लेख्दै प्रधानमन्त्री शाहले मौसम विज्ञान विभागका अनुसार असोज ९ देखि ११ गतेसम्म मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको बताएका हुन्।

उनका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी तथा एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको उनले उल्लेख गरेका छन्।

मौसम प्रणालीका कारण पोखरा आसपास, लुम्बिनीका पहाडी तथा तराई क्षेत्र, ताप्लेजुङलगायत कोशीका हिमाली भूभाग, बागमतीका पहाडी क्षेत्र, जुम्ला आसपास र सुदूरपश्चिमका पहाडी क्षेत्रमा बाढी, पहिरो, डुबान तथा सडक अवरोधको जोखिम रहेको प्रधानमन्त्री शाहले बताएका छन्।

सम्भावित वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव, डुबान तथा सडक र हवाई यातायातमा समेत अवरोध हुनसक्ने भएकाले आवश्यक सावधानी अपनाउन उनले आग्रह गरेका छन्।

प्रधानमन्त्री शाहले पानी परिरहेको र रातिको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्न, पहिरो तथा बाढीको जोखिम भएका क्षेत्र र नदी–खोलानजिक विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्। ट्रेकिङ तथा हिमाली क्षेत्रमा जाने योजनामा रहेकालाई मौसम सुधार नभएसम्म यात्रा स्थगित वा पुनर्विचार गर्न पनि उनले अनुरोध गरेका छन्।

उनले मौसम विज्ञान विभाग तथा स्थानीय प्रशासनबाट जारी हुने सूचना नियमित रूपमा हेर्न र आवश्यक अवस्थामा सम्बन्धित निकायको निर्देशन पालना गर्न आग्रह गरेका छन्। सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायलाई आवश्यक तयारी, समन्वय र पूर्वसतर्कता अपनाउनसमेत प्रधानमन्त्री शाहले निर्देशन दिएका छन्।