काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको नयाँ पुस्ताले इमानदारी, जवाफदेहिता र अवसरसहितको राजनीतिका लागि आवाज उठाएको बताएका छन्।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपालको पछिल्लो राजनीतिक परिवर्तनलाई नयाँ पुस्ताको आकांक्षासँग जोड्दै राज्यले नागरिकलाई रोजगारी, सामाजिक सुरक्षा र देशमै सम्मानपूर्वक बाँच्ने अवसर सुनिश्चित गर्नुपर्ने बताए।
उनले युवाको पुस्तान्तरण केवल नेपालको राष्ट्रिय विषय नभई द्वन्द्व, असमानता र अवसरको अभावविरुद्ध विश्वव्यापी रूपमा भइरहेको परिवर्तनको एउटा हिस्सा भएको बताए।
प्रधानमन्त्री शाहले आफ्नो सरकारको प्राथमिकता ‘डेलिभर गर्ने राज्य’ निर्माण गर्नु रहेको बताए। त्यसका लागि सम्मानजनक रोजगारी सिर्जना, सामाजिक सुरक्षा तथा प्रत्येक नेपालीलाई देशमै अघि बढ्ने समान अवसर उपलब्ध गराउनुपर्ने उनको भनाइ छ।
उनले जलवायु परिवर्तनका कारण विगतका विकासका आधारहरू समेत बदलिँदै गएको बताए । नेपालमा पछिल्लो विपद्ले भविष्यमा अझ चरम जलवायुजन्य घटना हुनसक्ने संकेत गरेको उल्लेख गर्दै उनले आकस्मिक प्रतिक्रियाबाट पूर्वतयारीको संस्कृतितर्फ जानुपर्ने बताए।
‘हामीले उत्थानशीलतामा लगानी गर्नुपर्छ, बीमा र नवीनतामा जोड दिनुपर्छ,’ प्रधानमन्त्री शाहले भने, ‘बलियो पूर्वाधार र संस्थाहरू निर्माण गर्नुपर्छ तथा जीवाश्म इन्धनमाथिको निर्भरता घटाउनुपर्छ।’
उनले विपद्का बेला जनताको ज्यान जोगाउन प्रभावकारी पूर्वसूचना र चेतावनी प्रणाली विकास गर्नुपर्नेमा जोड दिए।
प्रधानमन्त्री शाहले विश्वव्यवस्थामा कमजोर मुलुकको आवाजलाई पनि समान रूपमा महत्व दिनुपर्ने बताए। हिमाली समुदाय, साना टापु राष्ट्र, भूपरिवेष्टित तथा अतिकम विकसित देश र भावी पुस्ताको भविष्यलाई समान महत्व दिनुपर्ने उनको भनाइ छ।
सम्बोधनको अन्त्यमा प्रधानमन्त्री शाहले विश्व कल्याणको कामना गर्दै भगवान् पशुपतिनाथको आशीर्वाद र गौतम बुद्धले देखाएको मार्गमा विश्व अघि बढ्नुपर्ने सन्देश दिएका थिए।





