२०८३ बैशाख १५, मंगलवार

सुर्खेत। कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आर्थिक वर्ष २०८२–०८३ को तेस्रो त्रैमासिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ। सोमबार र मंगलबार भएको समीक्षा गोष्ठी सम्पन्न भएको हो।

समीक्षामा बोल्दै मन्त्रालयका सचिव संजिवकुमार कर्णले अनुसन्धानमा मात्र सीमित नभई प्राविधिक पक्षमा ध्यान दिएर मन्त्रालयले काम गरिहेको बताए। साथै उनले वित्तीय प्रगति सुधारमा संवेदनशील भएर काम गर्न उनले निर्देशन दिए। सचिव कर्णले असार मसान्तसम्म ८० देखि ९० प्रतिशतसम्म वित्तीय प्रगति हासिल हुने अपेक्षा रहेको बताए।

यस्तै, कर्णाली प्रदेश योजना आयोगका सदस्य डम्बरबहादुर रावलले कृषि मन्त्रालयलाई थप सशक्त बनाउन बजेट विनियोजन बढाउनुपर्ने बताए। उनले वित्तीय प्रगति सुधार गर्न तथा योजनाहरूको कार्यान्वयन प्रभावकारी बनाउन सुझाव दिए।

समीक्षा कार्यक्रममा कृषिमन्त्री विनोदकुमार शाहले मन्त्रालयअन्तर्गत सञ्चालनमा रहेका सबै कार्यक्रमहरू अनुदानमा आधारित रहेको उल्लेख गर्दै प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए। उनले कर्मचारीलाई आफ्नो काम, कर्तव्यप्रति जिम्मेवार भई परिणाममुखी ढंगले काम गर्न निर्देशन दिए।

यस्तै, मन्त्रालयले चालू आर्थिक वर्षको हालसम्म कूल ६४ लाख ३१ हजार रूपैयाँँ राजस्व संकलन गरेको छ। चालू आर्थिक वर्ष २०८२–०८३ का लागि चालू र पूँजीगत शीर्षकमा विनियोजन दुई अर्ब ५७ करोड बढी रकममध्ये हालसम्म करिब १७ प्रतिशत मात्रै रकम कार्यान्वयन गरेको छ। तर, गत आर्थिक वर्षको यो अवधिमा करिब २९ प्रतिशत बजेट खर्च भइसकेको थियो।

विशेषगरी पूँजीगत खर्चतर्फ सुस्त प्रगति देखिँदा समग्र खर्च प्रतिशत कम रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका योजना महाशाखा प्रमुख तिलकप्रसाद पाण्डेले खर्च र राजस्व दुवै क्षेत्रमा सुधार ल्याउन सरकारले आगामी आर्थिक वर्षमा नयाँ योजनाहरु बनाएर मन्त्रालय अगाडी बढेको बताए।

उनले परियोजनाहरूको कार्यान्वयन तीव्र पार्ने, सेवा प्रवाह प्रभावकारी बनाउने तथा राजस्वका नयाँ स्रोत पहिचान गर्ने कार्यलाई प्राथमिकतामा राखिएको बताए।