काठमाडौं। नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकमा केन्द्रीय सदस्य रुद्रबहादुर शाहीले पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाउँदै बदलिएको परिस्थिति र जनताको मनोविज्ञानअनुसार नयाँ सन्देशसहित जनतामाझ जानुपर्ने सुझाव दिएका छन्।
बैठकमा आफ्नो धारणा राख्दै शाहीले अध्यक्षको राजनीतिक प्रतिवेदन, महासचिवको मन्तव्यलगायत पार्टी निर्माणका पक्षमा आएका जायज कार्यक्रम, सुझाव तथा सुधारका संकल्पलाई समर्थन गर्ने बताए। उनले पार्टी नेतृत्वका आ–आफ्ना विषय र प्राथमिकता भए पनि कार्यकर्ताले आफ्नो योगदानको सम्मान, जनजीविका तथा भावनाको सम्बोधन र पार्टीको विरासत, उचाइ तथा प्रतिष्ठा बढेको देख्न चाहेको उल्लेख गरे।
देश र जनताको बदलिएको मनोविज्ञान तथा विकसित परिस्थितिलाई मध्यनजर गर्दै पार्टीभित्र वैचारिक, सांगठनिकलगायत आवश्यक विषयमा छलफल, बहस, परिमार्जन र निष्कर्ष निकाल्नुपर्नेमा उनले जोड दिए। पछिल्लो परिस्थितिको सामना गर्दै अघि बढ्न बलियो र एकताबद्ध पार्टी पहिलो शर्त भएको उनको भनाइ थियो।
शाहीले पार्टीको नीति र नेतृत्वको रक्षा गर्नु अहिलेको जिम्मेवारी भए पनि त्यो सुदृढ आन्तरिक एकताबाट मात्रै सम्भव हुने बताए। आन्तरिक एकतालाई बलियो बनाउँदै पार्टीका निर्णय र कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने उनको धारणा थियो।
उनले दैलेखको पेट्रोलियम पदार्थ उत्खननलगायत राष्ट्रिय गौरवका आयोजनामा पार्टी नेतृत्वले खेलेको भूमिकालाई ऐतिहासिक भएको उल्लेख गरे। तर, २९ दिनसम्म चलेको शिक्षक आन्दोलनप्रति तत्कालीन सरकार र पार्टीबाट अपेक्षित रूपमा प्रतिक्रिया नआएको, निजामती कर्मचारी ऐन निर्माणमा ढिलाइ भएको तथा जनताका जनजीविकासँग जोडिएका विभिन्न विषयको कार्यान्वयनमा ढिलाइ हुँदा असन्तुष्टि अझै कायम रहेको उनले बैठकमा बताए।
शाहीले बैठकपछि जनतामाझ जाँदा पार्टीका नेता तथा कार्यकर्ता पुरापुर आत्मविश्वासका साथ नयाँ विचार र कार्यक्रमको सन्देश लिएर जानुपर्ने सुझाव दिए। बदलिएको परिस्थितिअनुसार पार्टीले नयाँ आयामसहितको सन्देश जनतासम्म पुर्याउनुपर्ने उनको भनाइ थियो।





