२०८३ आश्विन १७, शनिबार

काठमाडौँ। संयुक्त अरब इमिरेट्स (यूएई) का युवराज शेख हमदान बिन मोहम्मदले शनिबार अस्पताल पुगेर फ्लाई दुबईका पाइलट क्याप्टेन स्मित मच्छरसँग भेट गरेका छन्।

गत बुधबार (सेप्टेम्बर ३०) फ्लाई दुबईको विमान यूएईको दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेका बेला ककपिटभित्रै क्याप्टेन स्मितलाई को-पाइलट रहेका ओमानी नागरिक हमाम अल-हमामीले धारिलो हतियारले हानेर घाइते बनाएका थिए।

यसका बाबजुद स्मितले कसैगरी ककपिटको ढोका खोलेर यात्रुलाई बोलाई १७२ यात्रु बोकेको विमान दुर्घटना हुनबाट जोगाए।

उक्त अप्रत्याशित घटनापछि विमानलाई डाइभर्ट गर्दै साउदी अरबमा सुरक्षित रूपमा अवतरण गराइएको थियो। अनि आक्रमणकारी सहपाइलटलाई नियन्त्रणमा लिएर घाइते पाइलटलाई साउदीको ताबुकस्थित अस्पतालमा भर्ना गरिएको थियो। तर अझ राम्रो उपचारका लागि घाइते स्मितलाई शुक्रबार यूएईको राजधानी अबुधाबी लगिएको छ।

यसै क्रममा यूएईका युवराज शेख हमदान बिन मोहम्मद अबुधाबीस्थित अस्पताल पुगेर पाइलट स्मितलाई भेट्दै उनको बहादुरीको प्रशंसा गरेका हुन्।

उक्त भेटको तस्बिर युवराजले सामाजिक सञ्जाल एक्समा सार्वजनिक गरेका छन्।

जसमा उनले लेखेका छन्, ‘कप्तानले साहस, जिम्मेवारी र मानव जीवनप्रति प्रतिबद्धताको सर्वोच्च उदाहरण प्रस्तुत गरे। उनीप्रति मेरो र देशकै नेतृत्वका तर्फबाट पूर्ण सम्मान छ।’