मुगु। कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले संघीयताको प्रभावकारी कार्यान्वयनका लागि तीन तहका सरकारहरुले समन्वय, सहकार्य र सहअस्तित्वलाई जोड दिँदै यसका लागि प्रदेश सरकार सदैव तत्पर रहेको बताएका छन्।
मुगु सदरमुकाम गमगढीमा शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम, प्रदेश कार्यक्रम सहयोग इकाईद्वारा आयोजित अन्तर्क्रियामा मुख्यमन्त्री शाहीले संघ, प्रदेश र स्थानीय तहबीच आवश्यक समन्वय र सहकार्य हुन सके संघीयता सफल हुने बताए।
विशेष गरी विकास निर्माणका कामहरुमा तीन तहबीच पर्याप्त समन्वय र सहकार्य जरुरी रहेको उनको भनाई छ। ‘विकास निर्माण, सेवा प्रवाह तथा शासन सञ्चालनमा प्रभावकारी समन्वय, सहकार्य र सहजीकरणको खाँचो पर्दछ, तीन वटै तहका संयन्त्रहरु अलग–अलग तौरतरिकाले काम गर्दा उल्टै समस्या हुनसक्छ,’ मुख्यमन्त्री शाहीले भने, ‘जति हामी आपसमा समन्वय, सहकार्य र सहअस्तित्वको भावनाका साथ अघि बढ्छौं त्यति जनतालाई राहत र सुविधा पाउने अवस्था रहन्छ।’
उनले प्रदेश सरकारका नीति तथा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्न स्थानीय सरकार तथा संघीय सरकारका जिल्लास्थित कार्यालयहरुको समेत महत्वपूर्ण भूमिका रहने धारणा व्यक्त गरे।
साथै, मुख्यमन्त्री शाहीले प्रदेश सरकारले स्थानीय तह र संघीय निकायहरुसंग गर्नुपर्ने समन्वय कुनै कमी हुन नदिने र सहकार्य गरेरै अघि बढ्ने प्रतिवद्धता जनाए।
कार्यक्रममा प्रमुख सचिव राधिका अर्यालले विकास निर्माण साझा सवाल भएकाले कार्यान्वयनका क्रममा देखापरेका समस्यालाई समाधान गर्न सबैको सहयोग जरुरी रहेको बताए।
अन्तर्क्रियामा जिल्लास्थित प्रदेशका कार्यालय प्रमुखहरुले स्थानीय तह, संघीय कार्यालयबीच विगतमा भएको समन्वय सहकार्यमा देखिएका समस्याहरुबारे अवगत गराएका थिए। कार्यक्रममा संघ, प्रदेश सरकारका जिल्लास्थित कार्यालय प्रमुख, स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता थियो।





