२०८३ आश्विन ७, बुधबार

काठमाडाैँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आगामी आर्थिक वर्षमा दक्षिण अफ्रिकाका थप १७,५०० अफ्रिकनलाई अमेरिकामा शरणार्थीका रूपमा पुनर्वास गराउने योजना बनाएको छ।

सिबिएसन्यूजका अनुसार अमेरिकी विदेश मन्त्रालयले मंगलबार कांग्रेसलाई पठाएको सूचनामा आर्थिक वर्ष २०२७ का लागि १७,५०० शरणार्थी स्थान छुट्याउने जानकारी दिएको हो। यीमध्ये अधिकांश अफ्रिकानेर हुने अपेक्षा गरिएको छ।

अफ्रिकनहरू मुख्यतः युरोपेली बसोबासकर्ताका सन्तान हुन्, जसको ठूलो हिस्सा नेदरल्यान्ड्सबाट आएका मानिसका वंशज हुन्। ट्रम्प प्रशासनले दक्षिण अफ्रिकामा उनीहरूले जातीय विभेद र उत्पीडन सामना गरिरहेको दाबी गर्दै आएको छ।

विदेश बिभागले भूमि कब्जा, रोजगारी तथा शिक्षामा सरकारी नीतिहरू र हिंसात्मक अभिव्यक्तिलाई यसको कारणका रूपमा उल्लेख गरेको छ।

रोयटर्सका अनुसार तर दक्षिण अफ्रिका सरकारले अफ्रिकन समुदायमाथि योजनाबद्ध उत्पीडन भइरहेको भन्ने आरोप अस्वीकार गर्दै आएको छ। दक्षिण अफ्रिकी अधिकारीहरूले भूमि सुधार र अन्य नीतिहरू ऐतिहासिक असमानता घटाउने उद्देश्यले ल्याइएको बताउँदै आएका छन्।

ट्रम्पले यसअघि दक्षिण अफ्रिकाका गोरा नागरिकविरुद्ध “नरसंहार” भइरहेको दाबी गरेका थिए। उक्त दाबी भने व्यापक रूपमा विवादित छ। केही अफ्रिकनहरूले समेत स्वेत समुदायमाथि नरसंहार भइरहेको धारणा अस्वीकार गरेका छन् र किसानमाथिका हिंसालाई दक्षिण अफ्रिकाको व्यापक अपराध समस्यासँग जोडेर हेरेका छन्।

अमेरिकी सरकारको सूचनाअनुसार अफ्रिकानेर पुनर्वास कार्यक्रमको अनुमानित लागत करिब ५० करोड अमेरिकी डलर हुनेछ ।