काठमाडौं। एमाले केन्द्रीय सदस्य सुहाङ नेम्वाङ नयाँ पुस्तालाई विश्वास नगरे पार्टी अघि जान नसक्ने भन्दै पुनर्गठनको पक्षमा उभिएका छन्। एमालेको जारी केन्द्रीय कमिटी बैठकमा उनले अनुहारमा लागेको फोहर सफा गर्न नेतृत्वलाई आग्रह गरेका थिए।
‘अब पनि हामी पुनगर्ठित भएर नयाँ उचाईमा हिड्न सकेनौं भने त्यो गौरवमय कथा सुन्ने नयाँ पुस्तामा केही हुने छैनन्। मेरो अनुरोध छ की समाज र नयाँ पुस्ताको विश्वास जित्ने नयाँ मार्गचित्र बनाउनुहोस्। हामी त्यहाँ कसरी हिड्ने त्यो भनीदिनुहोस्,’ उनले भने, ‘कि हामी नयाँ पुस्तालाई विश्वास गर्नुहोस्, हामी पार्टी र आन्दोलनलाई सारा बन्धन र षड्यन्त्रबाट बाहिर निकालेर तपाईहरूको गौरवमय इतिहासको कथा समाज, पुस्ता र दुनियाँलाई भन्छौं। त्यो मार्गचित्र र आत्मविश्वास हामी नयाँ पुस्तासँग छ।’
उनले चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक नेता माओत्सेतुङले गल्ती लुकाउनु रोग भएको भनाइ उद्धृत गर्दै नेतृत्वप्रति प्रश्न गरे।
‘हाम्रो आन्दोलनमा रोग लागेको छ, अनुहारमा फोहोर जमेको छ। कमरेड माओले भने जस्तै गल्ती लुकाउनु भनेको रोग लुकाउनु हो। फेरि भन्छु, तपाईहरूले गर्नुभएको कष्ट, संघर्ष, योगदानको कथा र कम्युनिष्ट आन्दोलनको गौरवमयी कथा धेरै पुस्तासम्म भनिरहन चहान्छौं,’ उनको भनाइ थियो, ‘त्यसैले सत्य स्वीकार गर्नुहोस्, त्यो सत्य हो : हामीले यहाँ भनिरहे जस्तो ‘हाम्रो आन्दोलन र पार्टीको अवस्था ठिकठाक छैन।’ हामीप्रतिको विश्वास र भरोसा टुट्दै गएको छ। ठिक छ भनेर असत्य बोल्नु हुन्न, क्रान्तिकारीहरूले त झुटको सामना गर्दा पनि झुटको सहारा लिनु हुन्न।’





