२०८२ आश्विन २२, बुधबार

काठमाडौं । भदौ २३ गते भएको घटना मानवताविरुद्धको अपराध भएको भन्दै जेनजी आन्दोलनका मृतकका परिवारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध दिएको जाहेरी प्रहरीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा पठाएको छ।

काठमाडौं प्रहरी परिररका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार, यस्तो जाहेरीको कार्यक्षेत्र जाँचबुझ आयोग हुने भएकाले त्यहाँ पठाइएको हो। ‘चार जनाको तर्फबाट जाहेरी आएको थियो त्यसलाई हामीले जाँचबुझ आयोगको कार्यक्षेत्रभित्र पर्ने भएकाले त्यहाँ पठायौं।’

प्रदर्शनमा अस्वाभाविक बल प्रयोग गरेर दमन गरेको र १९ जनाको ज्यान जानेगरीको बल प्रयोगको घटना ‘सामूहिक हत्या’ भएको भन्दै जेन–जी आन्दोलनकारीहरुले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गर्नुपर्ने माग राखेर जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दर्ताको प्रयास गरेका थिए।

प्रहरीले जाहेरी दर्ता नगरेपछि सोमबार राती परिसरको स्थिति तनावपूर्ण बनेको थियो। मंगलबार दिनभर पनि उनीहरुले जाहेरी दर्ता गर्न प्रयास गरे। अन्ततः प्रहरीले जाहेरी लिएर दर्ता नगरी त्यसलाई गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा पठायो।