पर्वत जिल्लाको पश्चिमी भू–भागमा अवस्थित महाशीला गाउँपालिका अन्तर्गत पर्ने घन्तरेथर गाँउ एक सुन्दर, शान्त र प्राकृतिक सौन्दर्यले भरिएको ग्रामीण बस्ती हो।
कुनै समय थियो—मेरो घन्तरेथर,जहाँ बिहान घामसँगै मानिसहरूको चहलपहल सुरु हुन्थ्यो। आँगन–आँगनबाट उठ्ने हाँसो, मेलापात, विवाह,व्रतबन्धमा गुञ्जिने गीत र गाँउ घर नजिकै मेलामहोत्सवले गाउँभरि जीवनको रौनक फैलाइदिन्थ्यो। हरेक बाटोमा पाइला चाल्दा चिनेजानेका अनुहारहरू भेटिन्थे, सुख–दुःख साटासाट हुन्थ्यो र गाउँ आफैंमा एउटा ठूलो परिवारझैँ लाग्थ्यो।
तर, समय फेरियो। विस्तारै जब मानिसहरू आर्थिक रूपमा केही बलिया बने। रोजगारी र सुविधाको खोजीमा तराईमधेस र सहरतिर लम्किन थाले। शिक्षा, स्वास्थ्य, सडक र अवसरको अभावले युवाहरूलाई गाउँ बाँधेर राख्न सकेन। एक–एक गर्दै घर खाली हुन थाले। चहलपहल हराउँदै गयो र कहिल्यै निद्रामा नडुब्ने त्यो गाउँ आज मसानघाट सरह सुनसान बन्दै गइरहेको छ।
पहिले जहाँ हरेक घरमा बिहानैदेखि धुवाँ उड्दा ल त्यो घरमा भात पाक्यो सोचिन्थियो,आज त्यही चुल्हो चिसिएको छ। आमा–बुबाको आशा बोकेर सन्तान सहर छिरे। तर, गाउँमा उनीहरूको खोक्रो सम्झना मात्र बाँकी रह्यो। खेतबारी उराठलाग्दा बनेका छन्, खेतवारीमा घाँस उम्रिएको छ र कहिलेकाहीँ चल्ने हावा पनि अचेल उदास सुरमा बहन्छ।
आज गाउँमा दुई–चार घर मात्र बाँकी छन्। जसमा बस्ने वृद्ध बाबा आमाहरूले पुरानो समय सम्झँदै दिन कटाइरहेका छन्। उनीहरूको आँखामा आशा कम र पीडा बढी देखिन्छ। गाउँ त उही छ।तर, आत्मा त सहरतिर बगेको छ।




