२०८२ साल फागुन २१ गते सम्पन्न भएको आसन निर्वाचनले नेपालको समकालीन राजनीतिक अवस्थाबारे नयाँ संकेत दिएको छ। देशभर मतदाताले परम्परागत राजनीतिक दलहरूप्रति असन्तुष्टि व्यक्त गर्दै भर्खरै उदायको राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा मतदान गरेको देखियो। वर्तमान निर्वाचनको प्रारम्भिक नतिजालाई हेर्दा वि.स २०१५ लाई पुन विउझाएको पाइन्छ।
नेपालमा २०१५ पछि स्पष्ट बहुमत समेत आउन नसकेको अवस्थामा अहिले मतदाताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लगभग दुई तिहाइ नै मत दिएको प्रारम्भिक नतिजाबाट देख्न सकिन्छ। यसले नेपाली मतदातामा परिवर्तनको चाहना बढ्दै गएको स्पष्ट संकेत गर्दछ।
लोकतान्त्रिक व्यवस्थामा निर्वाचन केवल प्रतिनिधि छनोट गर्ने प्रक्रिया मात्र होइन, यो जनताको अपेक्षा, असन्तुष्टि र आकांक्षाको अभिव्यक्ति पनि हो। जब मतदाताले लामो समयसम्म एउटै राजनीतिक संरचना वा नेतृत्वबाट अपेक्षित परिणाम प्राप्त गर्दैनन्, तब उनीहरू नयाँ विकल्पतर्फ आकर्षित हुन्छन्। यही प्रवृत्ति यसपटकको आसन निर्वाचनमा देशका धेरै भागमा देखियो।
तर, देशका धेरै क्षेत्रमा परिवर्तनको स्पष्ट संकेत देखिए पनि कर्णाली प्रदेशमा भने त्यस्तो ठूलो परिवर्तन देखिएन। कर्णाली प्रदेशका १२ वटा निर्वाचन क्षेत्रमध्ये नेपाली काँग्रेसले ५, नेपाली कम्युनिष्ट पार्टीले ४, नेकपा एमालेले १, राष्ट्रिय स्वतन्त्र पार्टीले १, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ स्थान जित हासिल गरे यो तथ्थाङ्क हेर्दा धेरै स्थानमा परम्परागत राजनीतिक दलहरूकै प्रभाव कायम रह्यो र नयाँ राजनीतिक शक्तिहरूले अपेक्षित सफलता हासिल गर्न सकेनन्।
यसले एउटा महत्वपूर्ण प्रश्न उठाएको छ —किन देशभर परिवर्तनको लहर चल्दा पनि कर्णालीमा किन आएन परिवर्तनको लहरहरु कर्णाली प्रदेशमा नयाँ राजनीतिक शक्ति सफल हासिल गर्न नसक्नुका पछाडी कर्णाली प्रदेशको भौगोलिक अवस्था, सामाजिक संरचना, आर्थिक अवस्था, राजनीतिक संगठन र सूचनाको पहुँचजस्ता विविध पक्षहरूलाई विश्लेषण गर्न आवश्यक हुन्छ।
१. भौगोलिक विकटता
कर्णाली प्रदेश नेपालको सबैभन्दा विकट भौगोलिक क्षेत्रमध्ये एक हो। यहाँका धेरै जिल्ला हिमाली र दुर्गम पहाडी भू-भागमा अवस्थित छन्, जहाँ यातायात, सञ्चार तथा पूर्वाधारको विकास अझै सीमित छ। यस्तो भौगोलिक अवस्था केवल विकासको चुनौती मात्र होइन, यसले राजनीतिक गतिविधि र निर्वाचन व्यवहारमा पनि प्रत्यक्ष प्रभाव पार्दछ।जसले गर्दा राष्ट्रियस्तरको राजनीतिक प्रभाव कमजोर रहन्छ ।
२. शिक्षा र राजनीतिक चेतनाको स्तर
कर्णाली प्रदेशको साक्षरता दर ७६.१ प्रतिशत रहेको छ। जुन नेपालको राष्ट्रिय साक्षरतादर भन्दा न्युन हो। जहाँ न्यून साक्षरता हुन्छ त्यहाँ राजनीतिक चेतना पनि कमजोर रहन्छ। जसले गर्दा मतदातामा नयाँ विचार वा सोचको कमि हुनुका साथै वैकल्पिक राजनीतिक शक्तिप्रति विश्वास पनि रहदैन। यसले राजनीतिक परिवर्तनलाई असर गर्छ ।
३. सूचना तथा संचार प्रविधिको पहुँचमा कमी
२१ औँ शताब्दी सूचना तथा संचारको युग हो। अहिले विश्वको युद्ध नै सूचना तथा संचारको प्रयोगले हुने अवस्थामा राजनीतिमा त झनै यसको ठुलो प्रभाव रहन्छ। कर्णाली प्रदेशमा विधुतको पहुँच प्राप्त जनसंख्या करिब ७४ प्रतिशत, इन्टरनेट पहुँच करिब २० प्रतिशत, स्मार्ट मोबाइल पहुँच ५८.४ प्रतिशत र रेडियोको पहुँच ४५ प्रतिशतका साथै सामाजिक संजालको न्यून पहुँच र प्रयोग रहेको पाइन्छ यसले कर्णाली जनतालाई सुचना प्रविधिसँग न्युन जोडेको पाइन्छ।
सूचना प्रविधिको पहुँच कमोजार हुदाँ सूचना प्रवाह कमजोर हुन्छ जसले गर्दा नयाँ राजनीतिक विकल्प, नयाँ विचार तथा नयाँ नेतृत्वबारे व्यापक बहस हुन सक्दैन। यसको प्रत्यक्ष प्रभाव निर्वाचन परिणाममा देखिन्छ। जहाँ सूचना र बहस कम हुन्छ, त्यहाँ मतदाताले परिचित विकल्प रोज्ने सम्भावना बढी हुन्छ र नयाँ वैकल्पिक शक्ति ओझेलमा पर्दछन।
४. वैकल्पिक राजनीतिक शक्तिको कमजोर संगठन
देशका अन्य भागमा नयाँ राजनीतिक शक्तिहरूले बलियो संगठन बनाउँदै मतदातामा प्रभाव बढाएका छन्। तर, कर्णाली प्रदेशमा त्यस्ता शक्तिहरूको संगठनात्मक उपस्थिती कमजोर देखिन्छ। निर्वाचनमा सफल हुन केवल लोकप्रियता मात्र पर्याप्त हुँदैनस बलियो संगठन, स्थानीय नेतृत्व र दीर्घकालीन राजनीतिक कार्य आवश्यक हुन्छ। कर्णालीमा नयाँ शक्तिहरूले यस्तो संरचना अझै पूर्ण रूपमा विकास गर्न सकेका छैनन्।
५.सामाजिक संरचना र नेतृत्वको प्रभाव
कर्णालीका धेरै स्थानमा स्थानीय नेतृत्वको व्यक्तिगत प्रभाव अझै पनि निर्णायक हुन्छ। स्थानीय नेताको सामाजिक सम्बन्ध, समुदायमा प्रतिष्ठा र पुरानो राजनीतिक सम्बन्धका आधारमा मतदान हुने प्रवृत्ति देखिन्छ। यसले विचार वा नीतिभन्दा व्यक्ति र दलप्रति विश्वासका आधारमा मतदान हुने परिस्थिति सिर्जना गर्छ।
६. परम्परागत दलहरूको बलियो संगठन
कर्णाली प्रदेशमा लामो समयदेखि ठूला राजनीतिक दलहरूको संगठनात्मक सञ्जाल बलियो छ। गाउँदेखि जिल्ला तहसम्म पार्टीका संरचना सक्रिय छन्। निर्वाचनका समयमा यस्ता संगठनहरूले मतदाता परिचालन, प्रचार-प्रसार तथा स्थानीय नेतृत्व परिचालनमा महत्वपूर्ण भूमिका खेल्छन्।
नयाँ राजनीतिक शक्ति वा वैकल्पिक समूहहरूले कर्णालीमा यस्तो बलियो संगठनात्मक संरचना अझै निर्माण गर्न सकेका छैनन्। संगठन कमजोर हुँदा मतदातासम्म आफ्नो विचार र कार्यक्रम प्रभावकारी रूपमा पुर्याउन कठिन हुन्छ। यसले निर्वाचन परिणाममा प्रत्यक्ष प्रभाव पार्छ।
७.आर्थिक पछौटोपन
कर्णाली प्रदेश प्राकृतिक स्रोतको धनी भएतापनि सहि रुपमा परिचालन नहुँदा आर्थिक रूपमा कमजोर प्रदेश हो। उच्च गरिबी, बेरोजगारी र सीमित आर्थिक अवसर रहेको छ । गरिबी, बेरोजगारी, अशिक्षा भनेका परिवर्तनका अवरोध हुन । जुन वर्तमान परिवर्तनशिल राजनीतिमा समेत असर देखिएको छ।
आर्थिक रूपमा पछाडि परेका क्षेत्रमा नागरिकहरूको मुख्य चिन्ता दैनिक जीविकोपार्जन हुन्छ। जब मानिसहरू आफ्नो परिवारको आधारभूत आवश्यकता—खाना, शिक्षा, स्वास्थ्य र रोजगारी—पूरा गर्न संघर्षरत हुन्छन्, त्यतिबेला दीर्घकालीन नीतिगत बहस वा राजनीतिक परिवर्तनभन्दा तत्काल लाभ र स्थायित्वलाई प्राथमिकता दिने प्रवृत्ति बढ्छ। त्यसैले मतदाताले आफूलाई परिचित र प्रभावशाली देखिने परम्परागत राजनीतिक शक्तिलाई नै समर्थन गर्ने सम्भावना बढी हुन्छ।
८. पेशागत संरचना
कर्णाली प्रदेशका अधिकांश नागरिकहरू कृषि, पशुपालन तथा परम्परागत जीविकोपार्जनमा निर्भर छन्। उद्योग, सेवा क्षेत्र तथा निजी व्यवसायको विस्तार अन्य प्रदेशहरूको तुलनामा कम रहेको छ। सामान्यतः जहाँ आर्थिक गतिविधि विविध हुन्छ।
जस्तै: उद्योग, व्यापार, सेवा क्षेत्र, उद्यमशीलता त्यहाँ नागरिकहरू नीति, प्रशासनिक सुधार तथा सुशासनप्रति बढी संवेदनशील हुने गर्छन्। यसले राजनीतिक परिवर्तनको मागलाई पनि बलियो बनाउँछ। तर कर्णालीमा अझै पनि ठूलो जनसंख्या जीविकोपार्जनमुखी कृषि तथा परम्परागत पेशामा निर्भर भएकाले राजनीतिक प्रतिस्पर्धा र नीतिगत बहस त्यति तीव्र रूपमा विकसित भएको देखिँदैन।
यसका साथै सरकारी सेवा, गैरसरकारी संस्था वा निजी क्षेत्रको रोजगारीको अवसर सीमित भएकाले नागरिकहरू राज्यको विकास कार्यक्रम र बजेटप्रति बढी निर्भर रहने गर्छन्।यस्तो अवस्थामा मतदाताले स्थायित्व र परिचित राजनीतिक शक्तिलाई प्राथमिकता दिने प्रवृत्ति देखिन्छ।
९. न्यून शहरी जनसंख्या
कर्णाली प्रदेशमा नगरपालिको जनसख्या ५२.२५ प्रतिशत र गाउँपालिकाको जनसंख्या ४७.९५ प्रतिशत छ। सबैभन्दा बढी ग्रामिण जनसंख्या कर्णाली प्रदेशमा रहेको छ। वास्तविक शहरी जनसंख्या कर्णाली प्रदेशको निकै न्यून रहेको छ।
नेपालमा सामान्यतः शहरी क्षेत्रहरूमा शिक्षा, सूचना, सञ्चार तथा राजनीतिक बहसको पहुँच बढी हुने भएकाले त्यहाँ नयाँ विचार र वैकल्पिक राजनीतिक शक्तिहरूको प्रभाव छिटो देखिन्छ। नेपालको अहिलेको राजनीतिक परिर्वतनलाई हेर्ने हो भने ग्रामिणको तुलनामा शहरी क्षेत्रमा बढी देखिएको छ।
आसन निर्वाचनमा कर्णाली प्रदेशमा न्यून शहरी जनसंख्याको कारणले पनि मतदाताहरुले पुराना दललाई नै छनोट गरेको विश्लेषण गर्न सकिन्छ
१०. वैदेशिक रोजगारी र युवाको अनुपस्थिति
कर्णाली प्रदेशबाट भारत लगायत विभिन्न देशमा वैदेशिक रोजगारीमा जाने युवाहरूको संख्या उल्लेखनीय रूपमा उच्च छ। निर्वाचनका समयमा परिवर्तनको आवाज प्रायः युवाहरूबाट बलियो रूपमा उठ्ने गर्दछ। तर कर्णालीका धेरै युवा विदेशमा रहेकाले वृद्धाहरुमा परिवर्तनको सोच कम हुने र परम्परागत देखि नै आवद्ध रहेको दल प्रति नै बढी झुकाव रहने गर्दछ। जसले गर्दा परिवर्तित राजनीतिमा असर पार्दछ।
निष्कर्ष
आसन निर्वाचन २०८२ ले नेपाली मतदातामा परिवर्तनप्रतिको चाहना बढ्दो रहेको संकेत गरे पनि कर्णाली प्रदेशमा त्यस्तो परिवर्तन स्पष्ट रूपमा देखिन सकेन। यसलाई केवल राजनीतिक प्रवृत्तिका रूपमा मात्र नभई कर्णालीको भौगोलिक विकटता, आर्थिक पछौटोपन, सीमित शैक्षिक अवसर, युवाको वैदेशिक रोजगारी, न्यून शहरीकरण तथा परम्परागत सामाजिक संरचनाजस्ता बहुआयामिक यथार्थसँग जोडेर बुझ्न आवश्यक हुन्छ।
त्यसैले कर्णालीमा परिवर्तनको गति ढिलो देखिनु मतदाताको इच्छाको कमी होइन, बरु अवसर, सूचना र संरचनागत अवस्थाको प्रभाव हो। भविष्यमा शिक्षा, रोजगारी, पूर्वाधार र सूचना पहुँचको विस्तारसँगै कर्णालीमा पनि राजनीतिक चेतना र वैकल्पिक नेतृत्वको विकास हुँदै जानेछ। त्यस अवस्थामा कर्णाली प्रदेश पनि देशव्यापी परिवर्तनको लहरसँगै अघि बढ्ने आधार अझ बलियो बन्ने अपेक्षा गर्न सकिन्छ।



