२०८२ कार्तिक २१, शुक्रबार

काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो तीन महिनाको वित्तीय विवरणमा बैंकहरूको बिग्रिएको वासलात सार्वजनिक भएको छ।

बैंकहरूले सार्वजनिक गरेको साउन, भदौ र असोज महिनाको अपरिष्कृत वित्तीय विवरणमा अधिकांश बैंकहरूको नाफा घटेको तथ्यांक देखिएको हो ।

गएको तीन वर्षदेखि बैंकहरूले अधिक तरलताका भार बोक्दै आएका छन्। यसले उनीहरूको ब्याज आम्दानीलाई खुम्च्याउँदै लगेको छ भने कर्जा असुलीको भार थपिँदै गएको छ। सोही कारण त्यसको असर समग्र नाफामा देखिन थालेको हो।

चालू आवमा नाफामा गिरावट आउनुको प्रमुख कारण पनि असुली दबाब, खस्किँदो ब्याज आम्दानी, अधिक तरलता, बढ्दो खराब कर्जा र त्यसमा छुट्याउनुपर्ने रकम बढ्नु हो। यिनै कारण चालू आवको पहिलो तीन महिना बैंकहरूका लागि सुखद बन्न सकेन।

२० वाणिज्य बैंकमध्ये जम्मा ५ वटा बैंकहरूको नाफा गत वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ। बाँकी १५ वटाको भने यो वर्ष गत वर्षको तुलनामा नाफा थप घटेको छ।

अंकका हिसाबले पहिलो त्रैमासमा सबैभन्दा धेरै नाफा गर्ने ग्लोबल आईएमई बैंकको नाफा गत वर्षको तुलनामा २२.९१ प्रतिशतले बढेको छ।

गत वर्ष बैंकले १ अर्ब ५१ करोड नाफा गरेकोमा यो वर्षको सोही अवधिमा १ अर्ब ८५ करोड बराबरको नाफा गरेको छ।

योबाहेक चालू आवको पहिलो त्रैमासिकमा एभरेष्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक र एनआईसी एसिया बैंकले नाफामा सुधार गरेका छन्।

अन्य १५ वटा वाणिज्य बैंकले भने गत वर्षको पहिलो त्रैमासिकको तुलनामा यो वर्षको पहिलो त्रैमासिकमा कम नाफा कमाएका हुन्।