२०८२ पुष २४, बिहीबार

अछाम । पिछडिएको क्षेत्रबाट समानुपातिक सांसद पक्का गर्न रास्वपाकी केन्द्रीय सदस्य ज्वाला संग्रौला (टीका) ले अछाम जिल्लाबाट नागरिकताको प्रतिलिपि लिएकी छन्।

पिछडिएको जिल्लाको प्रतिनिधित्व गर्दै उनी समानुपातिक सांसदको उम्मेदवार सूचीमा छिन्। अछामको मंगलसेन नगरपालिका–५ का हिमाल उपाध्यायसँग ज्वालाले १२ वर्षअघि विवाह गरेकी थिइन्। कामको सिलसिलामा जापान पुगेकी उनी उतैबाट अभियन्ताका रूपमा स्थापित भइन्।

उनका श्रीमान् हिमाल भने नेपालमै थिए। पूर्वी नेपालको पाँचथरमा जन्मिएर झापामा हुर्किएकी ज्वालाले आफूलाई पिछडिएको कोटामा पार्न अछामबाट नागरिकताको प्रतिलिपि लिएपछि उनीमाथि प्रश्न उठेको छ। यो खबर कान्तिपुर दैनिकमा मेनुका ढुंगानाले अछामबाट लेखेकी छन्।

आफूले झापाको क्षेत्र नम्बर–५ बाट प्रत्यक्ष चुनाव लड्ने मनसाय भए पनि त्यसबाट पछि हटेको उनले बताइन्। उनले हालै अछाम जिल्लाबाट नागरिकताको प्रतिलिपि लिनुलाई उनको अधिकारले पाउने हकका रूपमा मात्र हेरिएको छैन। सामान्य प्रशासनिक प्रक्रियाजस्तो देखिने उनको यो कदमलाई अछामको राजनीतिक वृत्तमा फरक ढंगले हेरिएको छ। किनकि ज्वालाका श्रीमान्‌को पारिवारिक पृष्ठभूमि लामो समयदेखि अछामको एमाले राजनीतिसँग गाँसिएको छ।

ज्वालाका कान्छा ससुरा शिवप्रसाद उपाध्याय नेकपा (एमाले) अछाम जिल्ला अध्यक्ष हुन्। त्यस्तै, उनका जेठा ससुराकी बुहारी अर्थात् ज्वालाकी जेठानी सरिता उपाध्याय एमालेबाट मंगलसेन नगरपालिकाको पूर्व उपप्रमुख भइसकेकी छन्।