सुर्खेत । डोल्पाबाट प्रतिनिधिसभा निर्वाचनमा कुलमान घिसिङको उज्यालो नेपाल पार्टीबाट उम्मेदवार बनेका दिलबहादुर विष्ट नेपाली काँग्रेसमा प्रवेश गरेका छन्।
शनिबार विष्ट काँग्रेसमा प्रवेश गरेका हुन्।
काँग्रेसका सह–महामन्त्री तथा डोल्पाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार कर्णबहादुर बुढाले विष्टको निवासमै पुगेर पुरानै पार्टीमा भित्र्याएका छन्।
पार्टीको सह–महामन्त्ती समेत रहेका उम्मेदवार बुढा विष्टलाई नेपाली काँग्रेसमा फर्काउनका लागि उनको निवासमै पुगेका थिए।
नेपाली काँग्रेस त्रिपुरासुन्दरी नगर कार्यसमिति डोल्पाले विष्टको सम्मानमा स्वागत कार्यक्रम आयोजना गरेर पार्टीमा स्वागत गरेको नगरसभापति टोपबहादुर शाहीले जानकारी दिए।
काँग्रेसमै फिर्ता भएपछि विष्टले आफ्नो राजनीतिक यात्रा र वैचारिक प्रतिबद्धताको मूल थलो नेपाली कांग्रेस नै भएको बताउँदै आफू आफ्नै घर काँग्रेसमा फर्किएको बताए। उनले भने, ‘नेपाली कांग्रेसप्रति मेरो योगदान, लगानी र निष्ठा सतही होइन, त्यो दीर्घकालीन, गहिरो र प्रतिबद्धताले भरिएको छ।’
विष्ट २०७९ सालको स्थानीय तहको निर्वाचनमा काँग्रेसले त्रिपुरासुन्दरी नगरपालिका प्रमुखको टिकट नदिएपछि तत्कालीन नेकपा माओवादी केन्द्रमा प्रवेश गरेर चुनाव लडेका थिए। तर, उनि पराजित हुन पुगे। उनले १४२२ मत प्राप्त गर्दै तेस्रो भएका थिए।
यस्तै, मुख्य निर्वाचन कार्यालय डोल्पाका अनुसार विष्टको नाम उम्मेदवारी दर्तामा भने यथावत नै रहेको छ।

